साझा कथा । पछिल्ला खेलहरुमा सहभागिता न्यून हुन थालेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । प्रदर्शन फितलो हुन थालेपछि मल्ललाई नेपाली क्रिकेट टिमका कोचले लगातार जसो बेञ्चमै राखेका थिए । शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्व कप्तान मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
सन् २००५ मा यू–१५ नेपाली टोलीको सदस्यको रुपमा प्रवेश गरेका मल्लले सन् २००६ मा चार दिवसीय प्रतियोगितामा नामिबियाविरुद्धको खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । ज्ञानेन्द्रले ३५ एकदिवसीय खेलमा ८५६ र ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा खेलमा ८८३ रन बनाएका छन् ।
नेपाल क्रिकेट सङ्घ क्यानले २०७६ कात्तिक १३ गते राष्ट्रिय क्रिकेट टोलीमा मल्ललाई कप्तानको जिम्मेवारी दिएको थियो । तत्कालीन कप्तान पारस खड्काले इमेलबाट क्यानलाई राजीनामा पठाएपछि मल्लले कप्तान बन्ने मौका पाएका थिए । तर उनको कप्तानी छोटो समयका लागि भयो । नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध लागेको भन्दै उनीमाथि अनुशासनको डण्डा चलाइएको थियो । फलस्वरुप मल्लको कप्तानी २०७८ मङ्सिर २९ गते खोसिएको थियो ।
यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन् । अनुशासनको डण्डा, बेञ्चमा रहनुको पीडा र आफ्नो फितलो प्रदर्शनले ज्ञानेन्द्र पछिल्लो समय तनावमा थिए ।