साझा कथा । सिफारिस हुनुपर्ने समय भन्दा झण्डै १ महिना ढिला गरी नेपालको प्रधानन्यायाधीसमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस भएका छन् । सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीचका मतभेदले संसद्मा गतिरोध निम्त्याइरहेका बेला संवैधानिक परिषद्मा पनि त्यसको प्रभाव देखिएको थियो । त्यहि मतभेदले प्रधानन्यायाधीस को हुन्छ भन्ने अन्यौल थियो । तर परिषदका सदस्यहरु सर्वसम्मत ढंगले वरिष्ठतम न्यायाधीस विश्वम्भर श्रेष्ठलाई सिफारिस गर्ने निर्णयमा पुगे ।
प्रधानन्यायाधीस हरिकृष्ण कार्की उमेरहदका कारण शनिबारदेखि अवकाशमा जाँदैछन् । उनीभन्दा अघिका प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबरामाथि संसद्मा दर्ता गराइएको महाभियोग प्रस्तावका कारण गएको वर्ष असोजमा कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए । तर २०८० वैशाखको अन्तिममा आएर मात्रै संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस हुन पाएका थिए ।
यसअघि मंगलबार बसेको संवैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीससँगै रिक्त रहेका अन्य संवैधानिक आयोगहरुमा पनि एकैपटक सिफारिस गर्नुपर्ने अडान राखेका कारण श्रेष्ठ सिफरिस हुन पाएका थिएनन् । यस्तो अडान राख्नुका पछाडी ओलीले श्रेष्ठसँग छलफल चलाउने मनशाय राखेको स्रोत बताउँछ । त्यसै योजना अनुसार ओली र प्रधानन्यायाधीसमा सिफारिस भएका श्रेष्ठबीच विहीबार विहान भेटवार्ता भएको बताइएको छ । तर छलफल र विषय गोप्य राखिएको छ ।
श्रेष्ठसँग सम्बन्ध बनाउन ओली र उनी निकट नेताहरुले केहि समयअघिदेखि नै मेहनत गरिरहेका थिए । तर श्रेष्ठले चाहना नदेखाएपछि यसमा एमाले नेताहरु सफल हुन सकेका थिएनन् । खासगरी सर्वोच्च अदालतमा नेकपा एमाले निकट न्यायाधीसहरु कम हुन थाल्दा एमाले नेताहरुले सर्वोच्चमा पार्टीको सम्बन्ध सुदृढ गराउन खोजेको स्रोत बताउँछ । एमाले निकट भनेर चिनिएकी न्यायाधीस सपना मल्ल प्रधान समेत एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग निकट भएकी छन् । विदा हुन लागेका प्रधानन्यायाधीस हरिकृष्ण कार्की एमाले अध्यक्ष ओली निकट भएपनि पछिल्लो समय उनीहरुको सम्बन्धमा दरार आएको थियो ।
ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता समेत रहेका कार्कीको कार्यशैली र निर्णयलाई लिएर पछिल्लो समय ओली रुष्ट भएका थिए । त्यसै कारण कार्की एक बर्षसम्म कायममुकायम प्रधानन्यायाधीस मात्रै भएर बस्नुपरेको थियो । कार्कीको अवकाशसँगै १४ जना न्यायाधीसमा सिमित हुन लागेको सर्वोच्चमा अब ओली निकट एक जना मात्रै बाँकी रहने भएका छन् । न्यायाधीस हरिप्रसाद फुयाँल मात्र ओली निकट हुन् । बाँकी न्यायाधीसहरुमा अधिकाँश नेपाली काँग्रेस निकट छन् ।
हुनेवाला प्रधानन्यायाधीस श्रेष्ठलाई चिनौँ
विचारका हिसाबले नेपाली काँग्रेसप्रति आस्थावान श्रेष्ठ हाल सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हुन् । सन् १९५९ अक्टोबरमा सिलगडी डोटीमा जन्मिएका श्रेष्ठ सन् १९८२ मा शाखा अधिकृतको अस्थायी नियुक्तिसहित कानुन तथा न्याय मन्त्रालयमा आबद्ध भएका थिए । मूल घर कैलाली रहेका उनीसँग जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतहरूमा काम गरेको लामो अनुभव छ । उनी सन् २०१६ मा सर्वोच्चमा न्यायाधीस नियुक्त भएका थिए । सर्वोच्चमा रहेका सबै न्यायाधीसमध्ये उनी सबैभन्दा बरिष्ठ न्यायाधीस हुन् ।
प्रधानन्यायाधीस नियुक्तिमा वरिष्ठता हेर्ने गरिएपनि कानुनमा वरिष्ठलाई नै प्रधानन्यायाधीस बनाउनुपर्ने प्रावधान भने छैन । उनले उमेर हदका कारण १४ महिनाजति प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्न पाउने छन् ।