साझा कथा । नेपालमा डेंगु सङ्क्रमणबाट सात जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमणबाट कैयौँ विरामी परेका छन् । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । डा. मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७१ जिल्लाका सात हजार २५३ जनामा डेंगु पुष्टि भएको छ ।
डा. मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा पाँच हजार १०१ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी, बागमती प्रदेशमा एक हजार १७१, गण्डकी प्रदेशमा ३८९, सुदूरपश्चिम प्रदेशमा ३४२, लुम्बिनी प्रदेशमा १९१, कर्णाली प्रदेशमा २७ र मधेश प्रदेशमा ३२ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८८ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लामा मात्रै छ हजार ३९८ जनामा डेंगु पुष्टि भएको छ ।
सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् । सुनसरीमा चार हजार ६७९, धादिङमा ८२९, कास्कीमा २१४, दार्चुला १९१, काठमाडौंमा ११९,झापामा ८१, सङ्खुवासभामा ७५, धनकुटामा ७४, मोरङमा ७२, कञ्चनपुरमा ६४ जनामा डेंगु पुष्टि भएको छ । सुनसरीको धरानमा धेरै विरामी परेका छन् ।
चिकित्सकका अनुसार डेंगुको ज्वरो डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डा. मरासिनीका अनुसार ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् । डेंगुको लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह गरी उपचार गराउनुपर्छ ।
चिकित्सकका अनुसार डेंगु सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । खासगरी विहान र साँझको समयमा ख्याल गर्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्चने उपाय जस्तै झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलम लगाउने जस्ता उपाय अपनाउन विज्ञहरुको सुझाव छ ।