Ad Banner

मनोरम मनाङ – दर्जन बढी हिमताल, छहरा र झरनाले लोभ्याउँछ मन

साझा कथा । अन्नपूर्ण पदमार्गको यात्रा गर्नुभएको छ भने यहाँले पक्कै देख्नुभएको छ होला । लम्जुङको बेशीसहरबाट पदमार्गको यात्रा हुँदै मनाङ पुग्नेहरु पुलकित हुन्छन्, त्यहाँका हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्य देखेर । अझ विशेषगरी मनाङ पुग्दा हिमताल हेर्न त छुटाउनु भएको छैन होला । यदि हिमतालहरु हेर्न छुटेको छ भने अर्को यात्रा तय गर्न सक्नुहुनेछ । ती हिमतालले तपाईमा उर्जा भर्नेछन्, मन रमाउने छ, तन थकित भएपनि पुलकित हुनेछ ।

अन्नपूर्ण पदयात्रामा निस्कनेहरु लम्जुङ, म्याग्दीका अग्ला डाँडाकाँडा, छहरा, झरनामा मोहित हुँदै मनाङ प्रवेश गर्छन् । यहाँका सफा, स्वच्छ झरना, छहराका पानीले मोहित पारेको पर्यटकहरु बताउँछन् । यहाँको हिमनदीबाट झरेर बनेका तालमा रमाउँदै यहाँको मज्जा लिनेहरुले अनुभूत गरेका होलान्, प्रकृतिसँगको साक्षात्कारको मजा ।

मनाङ प्रवेश गरी पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै यहाँ अझ कस्तो होला भन्दै लोभ्याउने छ । मनाङमा कजिनसारा ताल, ड्रोना ताल, गङ्गापूर्ण ताल, क्लिन लेक, ग्रिन लेक, ढुकुर पोखरी, आइसलेक, पोङ्कर ताल, तिलिचो ताल दर्जन बढी ताल छन् ।

यी तालले पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । मनाङको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन्, “यहाँ आउने पर्यटकले विशेषगरी ताल, हिमशृङ्खला, झरनाले आकर्षित गरेको बताउँछन्, यहाँका ताल, झरनामा रमाउने र सहजरूपमा पुग्ने बनाउन लागिपरेका छौँ ।”

झरना र तालतलैयामा सहज पुग्ने विकास निर्माण र नयाँ तालको खोजीमा गाउँपालिका जुटेको उनले बताए । “नयाँ ताल खोजी, भएका तालमा पूर्वाधार निर्माणका लागि बजेट नै छुट्याएका छौँ, हाम्रा गहनाको हामीले नै संरक्षण गर्ने हो”, उाले भने । चामे गाउँपालिकामा कजिनसारा, ड्रोना ताल पर्दछन् ।

मनाङ ङिस्याङ गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ताल रहेको छ । यहाँ ढुकुर पोखरी, ग्रिन लेक, क्लिन लेक, गङ्गापूर्ण ताल, तिलिचो ताल, आइसलेक, पोङ्कर ताल पर्दछन् । यहाँका तालसम्म पुग्ने बाटो बनाउने र तालसम्म पुग्ने पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेटको व्यवस्थापन गरेको छ ।

यहाँका तालतलैयासम्म पुग्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि सघाउँदै आएको छ । तालसम्म पुग्ने बाटोमा गाउँपालिकासँगै एक्यापले विभिन्न चिह्न राख्ने काम गरेको जनाएको छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यहाँका ताललाई सुरक्षित र संरक्षणका लागि बजेट छुट्याएको बताए । यहाँ धेरै ताल रहेकाले कति ताल अझै गुमनाम रहेको उनले बताए ।

हिमालबाट लुकेर आएको पानी नै यहाँ अधिकांश ताल बन्ने गरेका छन् । यहाँको विकासका लागि पर्यटकको आगमनले अझै उत्साहित बनाउने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । पर्यटनको हबका साथै मनाङलाई फिल्म छायाँङ्कनको क्षेत्रसमेत बनाउने गरी विकास गर्नुपर्ने उनको भनाइ छ ।

दुई याममा पर्यटक यहाँ घुम्न आउने गर्दछन् । ती यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ ।

 

यो पढ्नु भयो ?