पक्राउ पुर्जी जारी गरिएका गच्छदार लगायतका नेता कहाँ छन् ?

साझा कथा । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खोले लगत्तै नेपाली कांग्रेसका प्रभावशाली नेता विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा काठमाडौँ जिल्ला अदालतले गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गच्छदारसहित पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको छ । उनीहरुमाथि ललिता निवासको सरकारी जग्गा हिनामिनामा ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।

तर उनीहरु तत्कालै पक्राउ पर्ने सम्भावना भने कम छ । गच्छदार मोबाइल अफ गरेर फरार छन् । उनी नेपाली काँग्रेसको हालैको केन्द्रीय समिति बैठकमा भने आएका थिए । काँग्रेस बैठकअघि उनी केहि हप्ता भारत बसेर आएका थिए । यस्तै डम्बर श्रेष्ठ केहिदिन अघिसम्म चितवनमा देखिएपनि अहिले घरमा नभएको बताइएको छ । सञ्जय शाह व्यक्ति हत्याको अभियोगमा जेलमा छन् । जनकपुर बम बिस्फोट घटनामा दोषी ठहर भएर उनी कारागारमा रहेका छन् । निकै सोझो स्वभावका चन्द्रदेव जोशी भने चाँडै पक्राउ पर्ने सम्भावना छ ।

सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको छ । २०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु पनि मुछिएका छन् ।

अनुसन्धानको क्रममा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त समेत रहेका सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम लगायतलाई नियन्त्रणमा लिइसकेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?