साझा कथा टिप्पणी । वि.सं २०७६ साल बैशाख १५ गते विहान तत्कालीन नेकपाका वरिष्ठ नेता र अहिले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल चीन भ्रमण सकेर नेपाल फर्किए । भोलीपल्ट १६ गते विहान तत्कालीन नेकपाको सचिवालय बैठक थियो । बैठकमा थिए माधव कुमार नेपाल । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमै फ्याट्ट भनिहाले, माधवजीका लागि नेपाल ट्रान्जिट हो कि क्या हो ? ओलीले माधव नेपालका एउटा, दुईटा वा तीनवटा विदेश भ्रमण देखेर त्यसो भनेका थिएनन् । पछिल्ला ४ महिनाको अवधिमा ६ पटक विदेश गएर आइसकेका माधव नेपाल त्यहि दिन दिउँसो अमेरिका प्रस्थान गर्दै थिए । त्यहि कारण हो ओलीले कटाक्ष गरेको ।
हेर्दा सत्य लाग्छ, माधव कुमार नेपालको लागि नेपाल ट्रान्जिट पोइन्ट नै हो । एउटा देशबाट आयो, एक महिना आराम गर्यो, फेरि अर्को देश उडिहाल्यो । २०५० सालमा नेकपा एमालेको नेतृत्व सम्हालेदेखि एकीकृत समाजवादीको अध्यक्ष हुँदा समेत माधव नेपालको विदेश भ्रमणको श्रृंखलामा रत्ति कम भएको छैन । सायद उनी पुग्न बाँकी मुलुक औँलामा गन्न सकिन्छ । उनी सम्मिलित पार्टी र देश सामान्य अवस्थामा हुँदा त विदेश भ्रमण स्वभाविकै देखिएला तर पार्टीभित्र रडाको मच्चिदा र देशमा संकटको बादल मडारिँदा पनि माधव नेपाल विना हिच्किचाहट विदेश उडिदिन्छन् । एक पटक संसदमा बोल्दै माधव नेपालले देश डुब्नै लागिसक्यो भने, त्यसको केहि दिनमा उनी उत्तर कोरिया उडे ।
उनको विदेश भ्रमणकै कारण समाजवादीको केन्द्रीय समितिको बैठक ३ पटक स्थगन गरिएको छ । साउन २२ गते सोमबार माधव कुमार नेपाल युरोपको लागि उडेका छन् । २-३ दिनका लागि होइन, पुरै १२ दिनका लागि । २० गतेका लागि तय भएको उनको पार्टीको केन्द्रीय समिति बैठक भदौ ५ गतेका लागि सारिएको छ । युरोपबाट फर्किएपछि माधव नेपाल फेरि केहि दिनमा अर्को महादेश पुग्नेछन् ।
अहिले माधव नेपालले नेतृत्व गरिरहेको एकीकृत समाजवादी पार्टी डुब्न लागेको छ, तर उनी निस्फिक्रि विदेश उडिरहेका छन् । १० जिल्लाका सिंगो कमिटी एमाले प्रवेश गरिसक्यो, प्रभावशाली नेताहरु नै एमाले प्रवेश गर्न लागेको गाईँगुईँ चलिरहेको छ, तर पछिल्लो १ महिनामा उनी ३ पटक विदेश पुगिसके । आफ्नो पार्टी समाजवादी खिइँदै गएका बेला उनको विदेश दौडाहा भने रोकिएको छैन । ८ साउनमा इन्डोनेसिया जानुअघि माधव नेपाल श्रीलंकाबाट २१ असारमा मात्रै स्वदेश फर्किएका थिए ।
उनको विदेश भ्रमणकै कारण समाजवादीको केन्द्रीय समितिको बैठक ३ पटक स्थगन गरिएको छ । साउन २२ गते सोमबार माधव कुमार नेपाल युरोपको लागि उडेका छन् । २-३ दिनका लागि होइन, पुरै १२ दिनका लागि । २० गतेका लागि तय भएको उनको पार्टीको केन्द्रीय समिति बैठक भदौ ५ गतेका लागि सारिएको छ । युरोपबाट फर्किएपछि माधव नेपाल फेरि केहि दिनमा अर्को महादेश पुग्नेछन् । विदेशी भूमि र मञ्चमा पुगेर कम्युनिस्ट पार्टीका उतारचढावबारे धारा प्रवाह बोल्ने र पढाउने माधव नेपालको पार्टीबाट नेता कार्यकर्ताको बहिर्गमन भने रोकिएको छैन ।
रौतहटको गौरमा जन्मिएर युवा अवस्थामा बैँकको जागीरबाट करियर सुरु गरेका माधव नेपाल राजनीतिमा आएपछि हजारौँपटक विदेश शयरमा गएका छन् । तर उनका विदेश भ्रमणका उपलब्धी भने केहि देखिदैन । उनको विदेश यात्राले न उनी एमालेमा हुँदा एमालेको प्रतिष्ठा बढ्यो, न देशले केहि पायो । न त उनी नेकपामा हुँदा नेकपाका लागि कुनै फल प्राप्त भयो न उनको भ्रमणबाट एकीकृत समाजवादीले नै अहिले प्रतिष्ठा कमाइरहेको छ । किन जान्छन् होला माधव नेपाल यति धेरै विदेश ?
राजनैतिक भ्रमणमा मात्रै होइन, आफन्तहरुको पास्नी, विवाह, पारिवारिक जमघट जस्ता सामान्य अवसरमा पनि टिकट पाउनेवित्तिकै उनी विदेश उडिहाल्छन् । पार्टीका नेताहरुसँग माधव नेपालले परिवन्दमा परेर विदेश जान लागेको समेत बताउने गरेका छन् । कुन परिबन्दले माधव नेपाललाई विदेश जान बाध्य पार्दोरहेछ ? यसको रहस्य अहिलेसम्म पत्ता लागेको छैन । मद्यपान, धुम्रपान र सुरासुन्दरीमा आदत नभएका माधव कुमार नेपालको यति विघ्न विदेश मोह छ कि उनलाई भन्नुपर्छ, उनको नाम अब माधव कुमार ‘नेपाल’ होइन, माधव कुमार ‘विदेश’ राख्नुपर्छ ।