स्तनपानबारे ७ भ्रम र यथार्थ

साझा कथा । अहिले स्तनपान सप्ताह चलिरहेको छ । स्तनधारी जीवका लागि स्तनपान अपरिहार्य छ । शिशु जन्मिनेबित्तिकै एक घन्टाभित्रमा र ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनु, ६ महिनापछि दुई वर्षसम्म आमाको दूधको साथै केही अन्य खानेकुरा खुवाउनु नै सुरक्षित स्तनपान हो । शिशुलाई ६ महिनासम्म आमाको दूधबाहेक पानीसमेत दिनुपर्दैन । स्तनपान केवल स्वास्थ्यका दृष्टिकोणबाट मात्रै नभई भावनात्मक रूपमा समेत अत्यन्तै महत्त्वपूर्ण छ । स्तनपान हरेक मानवको जीवन र अस्तित्वसँग जोडिएर पनि यो विषयले खासै चर्चा पाएको देखिँदैन । फलतः यसबारे समाजमा कैयौँ भ्रम व्याप्त छन् । हाम्रो समाजमा पानी धेरै खायो भने दूध पातलो आउँछ, साग खाए बच्चालाई चिसो लाग्छ, बिगौती दूध खुवाउनु हुँदैन, आमाले पिरो–अमिलो खाँदा बच्चाको पेट दुख्छ आदि कुराहरु व्याप्त छन् । विज्ञहरुका अनुसार यी सबै भ्रम हुन् । केहि विशेष औषधी बाहेक आमाले जे खाएपनि त्यसको असर बच्चालाई पर्दैन ।

क्यट्रिओना वेट यूनिभर्सिटी अफ लिभरपुलमा क्लिनिकल फार्मकलजी र विश्वस्वास्थ्य विषय प्राध्यापन गर्छिन् । उनी युगान्डास्थित माकेरेरे यूनिभर्सिटी कलेज अफ हेल्थ साइअन्सेसँग शोधकर्ताका रूपमा आबद्ध छिन् । उनका भनाई साभार गर्दै हामी स्तनपानका ७ भ्रम र त्यसको यथार्थ यहाँ प्रस्तुत गर्दैछौँ ।

भ्रम १: स्तनपान गराउँदा दुख्छ र स्तनमुख ठूलो हुन्छ
यथार्थ: स्तनपान गराउँदा असह्य पीडा हुँदैन र स्तनमुख (निप्पल) ठूलो हुने हुँदैन । बच्चालाई दुध चुसाउन सुरु गर्दा सुरुसुरुमा अप्ठ्यारो लाग्नु एकदमै सामान्य कुरा हो र पहिले स्तनमुख फुल्न सक्छ तर बिस्तारै त्यसमा बानी पर्छ । यद्यपि स्तनपानका कारण कसैलाई पनि धेरै दुखाइ हुँदैन । यस्तो भयो भने स्तनमुखमा सङ्क्रमण भएको वा बच्चाले राम्रोसँग नचुसेको हुनसक्छ । केही असहजतालाई सामान्य रूपमा लिनुपर्छ र विशेषतः पहिलो पटक आमा भएका महिलाले स्तनपान गराउन बानी पर्न केही समय लाग्न सक्छ । यदि धेरै दुख्यो वा अप्ठ्यारो भयो भने त्यसबारेमा चिकित्सक, नर्स वा सुँडिनीसँग सल्लाह गर्नुपर्छ ।

भ्रम २: सुरुमै थालिएन भने स्तनपान गराउन मिल्दैन वा सकिँदैन
यथार्थ: सुत्केरी महिलालाई स्तनपान गराउन प्रोत्साहित गर्नु राम्रो हो । समयको समयसीमा थोपरेर मानिसको आनीबानीमा गरिने बाधा विज्ञानमा आधारित छैन । बच्चा जन्मिनेबित्तिकै आमाको दूध चुसाउनुका धेरै फाइदाहरू छन् । तीमध्ये सबैभन्दा प्रमुख पोषण हो । यसले गर्भाशय खुम्चिने प्रक्रिया सुरु गर्न पनि सहयोग गर्छ र सुत्केरी भएपछि हुने रक्तस्राव रोक्न वा कम गर्न पनि सघाउँछ । बच्चालाई जन्म दिएको केही दिनसम्म शरीरले उच्च प्रोटीनयुक्त कोलोस्ट्रम नामक पदार्थ बनाउँछ । बिगौती दूधमा हुने यो पदार्थ निकै उपयोगी हुन्छ र यसले दूध उत्पादनको यात्रा सुरु गराउँछ । त्यसैले सुरुमा दुध नआएपनि केहि हप्तापछि दुध चुसाउन सकिन्छ ।

भ्रम ३: स्तनपान गराउँदा कुनै औषधि सेवन गर्नु हुँदैन
यथार्थ: विश्वको जुनसुकै स्थानका महिलाले पनि सोध्ने पहिलो प्रश्न यही हो । के औषधि सेवन गर्दा बच्चालाई केही हुँदैन ? वास्तवममा धेरै औषधिहरू धेरै कम मात्रामा मात्रै बच्चासम्म पुग्छन् । चिकित्सकले तपाईँलाई औषधि खानुपर्छ भनेको अवस्थामा तपाईँ उनलाई सोध्नुहोस् । तर धेरै हदसम्म औषधि सेवन सुरक्षित नै हुन्छ । बच्चालाई चाहिने सबैभन्दा प्रमुख कुरा स्वस्थ आमा हो । सङ्क्रमण, डिप्रेशन वा सामान्य दुखाइका लागि प्रयोग हुने धेरैजसो औषधि स्तनपान गराउने महिलाले सेवन गर्न सुरक्षित नै मानिन्छन् । केही औषधिहरूबाट लाभ र हानि दुवै हुन्छ । स्तनपानका समयमा सेवन गर्न सिफारिस गरिएका औषधिको प्रयोग कति सुरक्षित हुन्छ भनेर आमाले चिकित्सकलाई प्रश्न सोध्नुपर्छ । अधिकांश औषधिहरू स्तनपान गराउने आमाहरूका लागि सुरक्षित हुन्छन् ।

भ्रम ४: स्तनपान गराउनुअघि सादा खाना खानुपर्छ, मसला भएको खानेकुरा बार्नुपर्छ
यथार्थ: स्तनपान गराउँदा बार्नुपर्ने खानेकुरा केही छैन । यद्यपि तपाईँको दूधको संरचना आहारबाट प्रभावित हुनसक्छ । कतिपय अवस्थामा महिलाहरूले त्यसको क्रम महसुस गर्न सक्छन् । उदाहरणका लागि, यदि सुन्तला वा त्यो प्रजातिका फलफूलको जुस पिउँदा बच्चामा चिडचिडाहट हुन सक्छ । तपाईँको आहारबाट बच्चाहरूले जनाएको प्रतिक्रियाबाट तपाईँले खानेकुरामा दिनुपर्ने ध्यान पहिचान गर्न सक्नुहुन्छ । तर चिकित्सकीय रूपमा अनुचित वा हानिकारक वा बार्नुपर्ने भन्ने कुनै पनि खानेकुरा छैन ।

भ्रम ५: स्तनपान गराएपछि बच्चालाई कहिल्यै पाउडर दूध दिनु हुँदैन
यथार्थ: यो कुरा पनि पूरै साँचो होइन । यद्यपि आमाको दूधमा हुने उत्पादन बच्चाको चुसाइ वा आवश्यकतामा भर गर्छ । महिलाको शरीर अद्भुत हुन्छ, उनीहरू आफ्नो बच्चाको लागि चाहिने जति दूध उत्पादन गर्न सक्छन् । बच्चाले स्तनमुख चुस्दा महिलाको शरीरमा भएका होर्मोनहरूलाई ठिक मात्रामा दूध उत्पादन गर्नका लागि आदेश जान्छ । तसर्थ तपाईँले सानो शिशुलाई वा ठूलो बच्चा वा जुम्ल्याहालाई नै चुसाए पनि आवश्यकताअनुसार दूध शरीरले उत्पादन गरिरहेको हुन्छ । तर तपाईँले ुफर्मुलाु भनिने पाउडर दूध दिन सुरु गर्नुभयो भने शरीरले पाउने प्रतिक्रिया प्रभावित हुन्छ। तपाईँको शरीरले बच्चालाई थप दूध आवश्यक भएको सङ्केत पाउँदैन ।

दूध पुर्‍याउन समस्या भयो र तपाईँले पाउडर दूध दिन सुरु गर्नुभयो भने त्यसले केही समय राहत दिन सक्छ । तर त्यसले वास्तविक समस्या चाहिँ अझै खराब बनाउन सक्छ । अर्कोतर्फ यदि तपाईँले राति राम्ररी सुत्न पाउनुभएको छैन वा थकित वा बिरामी हुनुहुन्छ भने तपाईँलाई आराम होस् भनेर बच्चालाई पाउडर दूध दिन सकिन्छ । तर त्यसपछि तपाईँले आफ्नो बच्चालाई खुवाउनै नसक्ने कुरा साँचो होइन ।

भ्रम ६: बिरामी भएको बेला स्तनपान गराउनु हुँदैन

यथार्थ: यो एउटा ठूलो भ्रम हो । एउटी आमाले आफ्नो बच्चालाई खुवाउन नसक्ने एउटा मात्र अवस्था छ । त्यो भनेको उनमा एचआईभी वा हेपाटाइटिस सङ्क्रमण देखिएको अवस्था हो। यी भाइरसहरू दूधबाट बच्चामा पुग्न सक्छन् । यो दुस्खद अवस्था हामीले यसअघि देखेका छौँ ।

धेरैजसो बिरामी अवस्थामा बच्चाहरूलाई आमाको दूध खुवाउँदा कुनै समस्या हुँदैन । किनभने बिरामी हुँदा आमाको शरीरमा एन्टिबडीहरू तयार हुन्छन् र त्यसले नवजात शिशुहरूलाई बचाउँछ । स्तनपानको माध्यमबाट आमालाई लागेको रोग सन्तानमा सर्ने एकदमै बिरलै हुन्छ ।

भ्रम ७: एक वर्षभन्दा बढी स्तनपान गराएका बच्चालाई बानी छुटाउन गाह्रो हुन्छ
यथार्थ: विश्व स्वास्थ्य सङ्गठनले बच्चाहरूलाई जन्मेको छ महिनासम्म स्तनपान मात्र गराउन सिफारिस गर्छ । त्यसपछि उसलाई अन्य पोषक तत्त्वहरू खुवाउन सकिन्छ । तर आमाले चाहेसम्म बच्चालाई स्तनपान गराइरहन भनिएको छ । स्तनपान गराउन कहिले रोक्ने भन्ने विषयमा कुनै विशेष सल्लाह छैन । बच्चाले जहिलेसम्म दुध खान खोज्छ, त्यतिञ्जेल स्तनपान गराउँदा हुन्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?