१३ दिनपछि खुलेको संसद – रविको आक्रोश, सत्तापक्ष र विपक्षीको दन्तबझान

साझा कथा । सुन तस्करी प्रकरणलाई लिएर उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्दै आएको संसद मंगलबारदेखि खुलेको छ । पछिल्लो पटक साउन १० मा सदन बसेको थियो । एक क्वीन्टल सुन तस्करी प्रकरणमा सरकारको तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने प्रतिबद्धतापछि एमाले तत्कालका लागि सदन खुलाउन तयार भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सभामुखसहित बसेको शीर्ष नेताको बैठकमा एमाले शर्तसहित सदन खुलाउन तयार भएको थियो ।

सो सहमतिपछि बसेको संसद बैठकमा सत्तापक्षीय सांसद र प्रतिपक्षी सांसदहरुबीच जुहारी चलेको छ भने अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच भइरहेको छलफल र बाझाबाझलाई लिएर आक्रोश व्यक्त गरेका छन् ।

एमालेका सांसद योगेशकुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव राखे । सुन तस्करी प्रकरणमा छानबिन गर्न छानबिन समिति बनाउनुपर्ने एमालेको माग कायमै रहेको बताउँदै भट्टराईले छानबिन समिति बनाउने र नबनाउने पक्षमा कुरा आइरहेको भन्दै संसदमा यसको पक्ष र विपक्षमा भोटिङ गर्न प्रस्ताव गरे । समिति नबनाउने पक्षमा बहुमत आएमा एमालेले आन्दोलन स्थगन गर्ने उनको भनाई थियो । गृहमन्त्रीदेखि सम्बन्धित सबै निकायलाई पनि प्रश्न सोध्नुपर्ने र अनुसन्धान गर्नुपर्ने आवश्यकता भएकाले राजनीतिक तहबाट छानबिन समिति बनाउनु आवश्यक भएको उनको तर्क थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताको छलफलका नाममा संसद बैठकको समय हेरफेर गर्न नपाइने बताए । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले भने ‘सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो सदन त्यो समयमा चल्नभन्दा अगाडि चाहे रात परोस्, चाहे विहान होस्, देखिएका, आवश्यक पर्ने दलका नेताहरु अगाडि नै बैठक बसेर सभामुखमार्फत आएको सदन चल्ने समयमा सदन किन चल्दैन ?’

प्रमुख दलका शीर्ष नेताहरूको बैठकले संसद्‍को तालिका नै फेरिदिने गरेको भन्दै सांसद लामिछानेले आपत्ति जनाएका थिए ।एकअर्काको अनुहार पनि हेर्न नचाहने शीर्ष नेताहरू भ्रष्टाचारका काण्ड हुँदा किन बैठक बसिरहनुभएको छ ?’ लामिछानेले सोधे ।

तीन जना नेताहरु सल्लाह गर्नुपर्ने भए संसदको तोकिएको समय भन्दा पहिले नै छलफल गर्नुपर्ने र तोकिएको समयमा बैठक सुरु हुनैपर्ने उनले बताए । ‘केही दलका केही नेताहरु बसेर यत्तिका जनप्रतिनिधिका तर्फबाट निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाइँदैन, यो तय होस्, सभामुखबाट रुलिङ होस् कि कुनै पनि दिन यदि तोकिएको समय र मितिमा संसद चल्छ भनेर सूचना टाँसिसकेपछि त्यो सयममा घण्टी बज्नुपर्छ । त्यो घण्टी बज्नभन्दा अगाडि जे जे कुरा मिलाउनुपर्छ मिलाए हुन्छ’ सभापति लामिछानेले भने ।

प्रमुख दलका शीर्ष नेताहरूको बैठकले संसद्‍को तालिका नै फेरिदिने गरेको भन्दै सांसद लामिछानेले आपत्ति जनाएका थिए ।एकअर्काको अनुहार पनि हेर्न नचाहने शीर्ष नेताहरू भ्रष्टाचारका काण्ड हुँदा किन बैठक बसिरहनुभएको छ ?’ लामिछानेले सोधे ।

यस्तै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणको विषय निष्कर्षमा नपुगेसम्म समिति नबनाउन आग्रह गरे । ‘प्रमुख प्रतिक्षी दल एमालेलाई वेटिङ गर्भमेन्ट भएको भन्दै यस्ता विषयमा वादविवाद नगर्न आग्रह गरे । जुन ठाउँबाट छानबिन भइरहेको छ, त्यो छानबिनको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दिउँ । चित्त बुझेन भने अर्को समिति बनाऔंला । अर्को समितिको नाममा विषयान्तर हुने काम नगरौं,’ उनले भने ।

यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मदन भण्डारीको दुर्घटना सम्बन्धी फाइल खोल्न आवाज उठाउन एमालेलाई सुझाव दिए । संविधान र कानुन बमोजिम बनेका संस्थाहरुलाई अविश्वास गर्न नहुने बताउँदै एमालेतर्फ संकेत गर्दै भने, ‘आज भन्दा ३० वर्ष २ महिना २३ दिनअघि एउटा गम्भीर दुर्घटना भयो । म श्रद्धापूर्वक नाम लिन चाहन्छु मदन भण्डारीको निधन भयो । बाहिर बोल्दा साथीहरु कुरा उठाउनुहुन्छ । उच्चस्तरीय आयोग बनाउँदै गर्दा ती फाइल पल्टाउँ न त ।’

उनले थपे, ‘संसद प्रतिपक्षको हो भनिन्छ । प्रतिपक्षको आवाजको कदर गर्नुपर्छ । अनि हामी निर्वाचित भएर यहाँ संयोगले सत्ता पक्ष बनेका सांसदको बोल्ने थलो रत्नपार्क हो ?’

तर, सुन काण्डका विषयमा राज्यका निकायहरुले काम गरिरहेको बताउँदै अविश्वास गर्न नहुने बताए । सम्पत्ति सुद्धिकरण, राजश्व अनुसन्धान, दक्षिण एशियामै प्रसिद्धि हासिल गरेको सिआइबी र नेपाल प्रहरीमा विश्वास नगर्ने कुरा सही नभएको उनको भनाइ छ ।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गर्दा सांसदको बोल्न हक कुन्ठित भएको उल्लेख गरे । उनले थपे, ‘संसद प्रतिपक्षको हो भनिन्छ । प्रतिपक्षको आवाजको कदर गर्नुपर्छ । अनि हामी निर्वाचित भएर यहाँ संयोगले सत्ता पक्ष बनेका सांसदको बोल्ने थलो रत्नपार्क हो ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख तीन दलले पुरै देश र संसदलाई बन्धक बनाएको आरोप लगाए । उनले तीन दलले जे भन्छन् अरुले त्यही मान्नुपर्ने अवस्था बनाइएको भन्दै विरोध जनाए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?