साझा कथा । नेतृत्वको मनोगत शैली र अहंकारयुक्त व्यवहारका कारण नेकपा एमालेमा झमेला सुरु भएको छ । एक दुई जना नेताहरुमै पूर्ण भर पर्न थालेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अरु नेताहरु चिढिन थालेको स्रोतले बताएको छ ।
केहि समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंहको कार्यक्रममा बोलेको एउटा कुरालाई लिएर केहि सोँचविचार नगरी प्रधानमन्त्रीको राजीनामा मागेको एमालेले प्रचण्डको प्रष्टिकरणमै चित्त बुझाएपछि एमालेमा असन्तुष्टि सुरु भएको हो । त्यसो त राष्ट्रपति निर्वाचनको बेला आफूलाई उमेदवार नबनाएपछि प्रचण्ड विच्किएको बुझेका उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरु ओलीसँग त्यहिबेलादेखि रिसाएका छन् । सुन तस्करी प्रकरण बाहिर आएपछि उच्चस्तरीय छानविन आयोग गठन र गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको एमालेले फेरि पनि कुनै सहमतिमार्फत सेफल्याण्डिङको प्रयास गरिरहेको छ तर पार्टीका नेताहरुबीच मिल्ती विग्रिएको स्रोत बताउँछ ।
ओलीका विश्वासपात्रहरु आजभोली सार्वजनिक रुपमा त्यति देखापरेका छैनन् । ललिता निवास काण्डका कारण विवादमा आएका उपाध्यक्ष विष्णु पौडेल आजभोली गुमनाम छन् । यस्तै कोरोना कालमा औषधी खरिद गर्दा ओम्नी कम्पनीमार्फत अनियमितताको आरोप लागेका वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल र केन्द्रीय नेता भानुभक्त ढकाल पनि आजभोली गुमनाम छन् ।
अहिले संसदमा एमालेको अवरोधको औचित्यमाथि प्रश्न उठिरहेको छ । आममान्छेलाई परेको छ, सरकारले भ्रष्टाचारीमाथि कारबाही गर्न थालेपछि एमालेले संसदमा उपद्रो गर्न थालेको हो । यसमा एमालेका नेताहरुले अध्यक्ष ओलीले विना सरसल्लाह, मनमा जे लाग्यो, त्यहि निर्णय गर्दै जाँदा पार्टी कमजोर हुन थालेको व्यक्त गर्न थालेका छन् ।
ओलीले रिमालप्रति देखाइरहेको औधी प्रेमका कारण उनी निकट रहेका काभ्रेका नेता गोकुल बाँस्कोटा समेत असन्तुष्ट छन् । उनी निकट केहि कार्यकर्ताका अनुसार ओलीलाई ‘भगवान’ नै ठान्ने बाँस्कोटा आजभोली ओलीको प्रतिरक्षा गर्न हतार गर्दैनन् ।
यसअघि प्रधानमन्त्रीको राजीनामा मागेर हप्तौं संसद् अवरुद्ध पारेको एमालेले त्यसको औचित्य पुष्टि गराउन सकेन । किन अवरोध गरियो र किन खुलाउने सहमति भयो, ठूला भनिएका नेतालाई नै थाहा छैन । ‘सबै कुरा सनकमा हुने भएपछि कमिटी किन चाहियो, पार्टीको बैठक किन बस्नुपर्यो ?’, एमालेका एक जना नेताले भने ।
सुन तस्करी प्रकरणमा अध्यक्ष ओली बरालिएको देखेर आफूहरु लज्जित भएको बताउने गर्छन् एमालेका नेताहरू । कम्बोडिया भ्रमण सकेर फर्केलगत्तै ओलीले एयरपोर्टमै आफ्नो फोटो छापेको भन्दै नयाँ पत्रिकालाई ‘माओवादीको पत्रिका’ भन्दै गाली गरे । तर उक्त समाचारमा न ओलीको फोटो थियो, न नाम । समाचारमा ओलीसँग निकट भनिएका दिपक मल्होत्राको मात्रै फोटो थियो । सूचना प्रविधिमा आफूलाई निकै दख्खलवान ठान्ने र जहाँ पनि ल्यापटप लिएर बस्ने उपमहासचिव विष्णु रिमालले सँगै कम्बोडिया यात्रामा हुँदा सही सूचना नदिँदा यस घटनामा ओलीले बेइज्जतिको सामना गर्नुपरेको अरु नेताहरुको बुझाई छ । सचिवालयका धेरै नेताहरु रिमालसँग सन्तुष्ट छैनन् । तर ओली भने रिमालको पूर्ण विश्वासमा छन् । त्यसैले पारिवारिक जमघट मात्रै होइन, हरेक विदेश भ्रमणमा रिमाललाई सँगै लिएर हिँड्छन् ओली । रिमाल ओलीका एक मात्र सूचनाका स्रोत बनेपछि अरु नेताहरु रुष्ट भएका छन् ।
ओलीले रिमालप्रति देखाइरहेको औधी प्रेमका कारण उनी निकट रहेका काभ्रेका नेता गोकुल बाँस्कोटा समेत असन्तुष्ट छन् । उनी निकट केहि कार्यकर्ताका अनुसार ओलीलाई ‘भगवान’ नै ठान्ने बाँस्कोटा आजभोली ओलीको प्रतिरक्षा गर्न हतार गर्दैनन् ।
कुनै समय ओलीले सबैभन्दा बढी विश्वास गर्ने अर्का उपमहासचिव प्रदीप ज्ञवाली पनि ओलीका पछिल्ला कदमप्रति सन्तुष्ट छैनन् । गुल्मीका एक जना एमाले कार्यकर्ताले भने, ‘आज भोली प्रदिप कमरेड त ओलीको घरमै जाँदैनन् ।’
यति मात्रै होइन, राजनीतिक प्रतिशोध साँध्न सनकको भरमा निर्णय गर्ने, कार्यकर्ताको ताली खान जे पनि बोलिदिने ओलीको कार्यशैलीलाई लिएर एमालेमा विरोध हुन थालेको छ । तर सार्वजनिक रुपमा बोल्न सबै नेताहरु हिच्किचाइरहेका छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा विघटनको बेला सार्वजनिक रुपमै ओली कदमको विरोध गरेका थिए । अहिले उनी कार्यकर्ताहरुसँग ओलीप्रति कठोर सुनिन्छन् । कुनै समय ओलीले सबैभन्दा बढी विश्वास गर्ने अर्का उपमहासचिव प्रदीप ज्ञवाली पनि ओलीका पछिल्ला कदमप्रति सन्तुष्ट छैनन् । गुल्मीका एक जना एमाले कार्यकर्ताले भने, ‘आज भोली प्रदिप कमरेड त ओलीको घरमै जाँदैनन् ।’
यस्तै नेताहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि ओलीसँग रुष्ट छन् । संसदमा ओलीको साखुल्ले बन्न चर्को स्वरमा भाषण दिएपनि बाहिर निस्किएपछि कार्यकर्तामाझ पन्तले ओलीका कारण आफूहरुको बेइज्जत भइरहेको बताउने गरेका छन् ।
एमालेभित्र यो असन्तुष्टि भुसको आगो झैँ सल्किएको स्रोत बताउँछ । सबैभन्दा कठिन पहिले माधव नेपाल क्याम्पमा रहेका योगेश भट्टराई, पाण्डे र पन्तलाई भएको छ । सुरेन्द्र पाण्डेसँग ओलीको कुराकानी नै नभएको महिनौँ भइसक्यो । भट्टराईलाई तत्कालका लागि एमाले छोडेर अन्त जान नसक्ने भएकै कारण ओलीलाई रिझाउनुपर्ने बाध्यता छ । तर, भित्रभित्र भने उनीहरूले निश्कर्ष निकालेका छन् – ओलीलाई अब सुधार्न सकिंदैन । आफैँ अन्त जाने कुरा पनि भएन । समय कुरेर बस्नुको विकल्प छैन ।
माओवादीसमेतको भोटले झण्डै दुई तिहाइको नेतृत्वमा पुगे पनि अरुको अस्तित्व स्वीकार नगरेकै कारण ओली अल्पायुमै सत्ताच्यूत हुनुपरेको बुझेका छन् धेरै एमाले नेता कार्यकर्ताहरुले । शक्तिशाली नेकपा हुँदै एमालेसम्मको विभाजन र पछिल्लो समय एमालेप्रति सामाजिक सञ्जालमा देखिने आक्रोश ओली नेतृत्वकै कारण भएको उनीहरुको बुझाई छ ।