सरकारको दबाब नभएपछि हौसियो सीआईबी, दुई दिनमा १० जना पक्राउ

साझा कथा । हरेक दिन कुनै न कुनै काण्डमा प्रहरीले ‘अप्रेशन’ चलाइरहेको छ । सरकारको दबाब नभएपछि हौसिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने ८ जनालाई पक्राउ गरेको छ । विहीबार मात्रै सीआईबीले नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्मासहित पाँच जना पक्राउ गरेको थियो । शुक्रबार थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले चिकित्सकीय सेवा समेत प्रदान गर्दै आइरहेका थिए । अपरेशन ‘फक्सट्रट चार्ली’ अन्तर्गत शुक्रबार काठमाडौंस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरी र सुमेरु सिटी अस्पतालमा कार्यरत डा.पुनम थापा पक्राउ परेका हुन् ।

शिल्पकारलाई काठमाडौंबाट र चौधरीलाई मोरङबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार चौधरीले मोरङमा आफ्नै निजी क्लिनिक सञ्चालन गर्दै आएका थिए । शिल्पकार र चौधरी पक्राउ परेसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पक्राउ पर्नेहरुमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, महोत्तरीका डा. रञ्जितकुमार यादव, डा. एरिना शाह र रौतहटका डा. रामबाबु यादव रहेका छन् ।

उनीहरुले नक्कली सर्टिफिकेटको किर्ते गरेको आरोप छ । ७ बर्षअघिदेखि प्रहरीले यो विषयमा अनुसन्धान गर्दै आएपनि सीआईबीको नेतृत्वमा डिआईजी किरण बज्राचार्य आएपछि कडाई गरेको छ । सिआइबीले २०७३ मा नक्कली प्रमाण पत्रको आधारमा चिकित्सक बनेकाहरूबारे विशेष क्वाक अप्रेशन चलाएको थियो । त्यही बेलामा काँग्रेस नेता शर्माको आइएस्सी प्रमाण–पत्रमा कैफियत देखिएपछि प्रहरीले उनलाई खोजेको थियो । तर शर्मा भने राजनैतिक पहुँचमा खुलेयाम हिँड्दै आइरहेका थिए । २०७९ को चुनावमा त उनी मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित समेत भए ।

सांसद शर्मा मात्रै होइन, प्रहरीले यो प्रकरणमा कसैलाई पक्राउ गर्न सकेको थिएन । तर अहिले अनुसन्धान गर्न स्वतन्त्रता प्राप्त गरेको सीआईबीले सफलता हासिल गर्दै गइरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीलाई कुनै दबाब र कसैको प्रभावमा नपरी हरेक अपराधलाई सुक्ष्म ढंगले अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

उता एक क्वीन्टल सुन तस्करी प्रकरणमा पक्राउ पर्नेहरुको संख्या थपिँदै गएको छ । सीआईबीले थप दुई जना चिनियाँ नागरिकलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका हुन् । सर्वाधिक खोजीमा रहेका उनीहरु हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ गरिएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?