विविध कारणले ग्रामीण तहमा बाँझोपनको समस्या बढ्दै गएको छ । गाउँगाउँमा बाँझोपनले भयावह रुप लिन थालेपछि चिकित्सकहरूको चिन्ता व्यक्त गरेका छन् । चिकित्सकहरूले पछिल्लो केही वर्षयता युवाहरू विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका हुन् ।
बाँझोपनको समस्या समाधानका लागि परामर्श दिन आवश्यक भइसकेको सरोकारवालाहरुको भनाई छ । चिकित्सकहरूका अनुसार बाँझोपनले मानसिक समस्या विकराल बन्दै गइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कृति पाल सुवेदीले बाँझोपन हुनुमा महिला र पुरुषको भूमिका समान हुने बताइन् । विवाह पश्चात् पुरुषहरू वैदेशिक रोजगारीमा जानु पनि बाँझोपनको कारण रहेको औँल्याउँदै उनले खाडी मुलुकमा गएका पुरुषहरू नेपालमा फर्किँदा बच्चा नहुनुको प्रमुख कारण उच्च तापक्रमले शुक्रकीट उत्पादनमा ल्याउने ह्रास रहेको पनि बताइन् । डा. सुवेदीले एक वर्ष वा एक वर्षभन्दा बढी समयसम्म श्रीमान् श्रीमती अस्थायी परिवार नियोजनको साधन बिना यौनसम्पर्क गर्दा पनि सन्तान उत्पादन नभएमा त्यसलाई बाँझोपन भनिने जानकारी दिइन् । सरकारले बाँझोपनबारे प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्ने बेला भइसकेको उनको भनाई छ ।
डा. सुवेदीले भनिन्, ‘सामान्य रूपमा बुझ्यौँ भने पनि महिलाको अण्डा चाहिँ एक महिनामा निस्किन्छ । करिब करिब ४८ घण्टा जति बाँच्छ । पुरुषको शुुक्रकिट चाहिँ एक पटक यौनसम्पर्क भयो भने ४८ देखि ७२ घण्टा बाँच्छ । फर्टाइल विन्डो भनेको करिब करिब चारदेखि पाँच दिन हुन्छ । यो बिचको बाहेक महिनाभर जति यौनसम्पर्क भए पनि बच्चा बस्ने वाला छैन । स्ट्रेसले अण्डाको क्वालिटी पनि घटाउँछ र वीर्यको क्वालिटी पनि घटाउँछ । हरेक पटक यौनसम्पर्क गर्ने बेलामा यो यौनसम्पर्कले बच्चा बसोस् भनेर श्रीमान्, श्रीमती दुवैले स्ट्रेस लिइरहनुभएको छ । अहिलेको अवस्था हेर्दा ग्रामीण तहका युवा पुस्तादेखि विदेश जानका लागि भिसा लाएपछि विवाह गर्ने हो, किनभने त्यो भन्दा अगाडि जागिरको टुङ्गो छैन । विवाह गरेको १५ दिनमा विदेश जाने हो । दुई वर्षमा आउने हो, दुई महिनाका लागि आउने हो । दुई महिनाको लागि बच्चा चाहियो । यो त प्रकृतिले नै नदिएको कुरालाइ जित्न नै सकिँदैन नि १ सरकारले प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्ने बेला भइसक्यो । त्यसमा पारामेडिक्सहरुले मज्जाले काउन्सिलिङ गर्न सक्नुहुन्छ । काउन्सिलिङ गर्न थालियो भने बिस्तारै बिस्तारै चेतना आउन थाल्छ । फाइदा बेफाइदाबारे जानकारी हुन्छ ।’
वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले बाँझोपन थाहा पाउन महिला पुरुषको स्वास्थ्य जाँच गर्नुपर्ने र बाँझोपनको कारण पत्ता लगाइसकेपछि मात्रै उपचार प्रक्रिया थाल्नुपर्ने बताइन् । निःसन्तानपनले मानसिक समस्या निम्त्याएको भन्दै ठाकुरले बाँझोपनसम्बन्धी सरकारले नीति ल्याउन आवश्यक रहेको उल्लेख गरिन् ।
-न्युज एजेन्सी नेपालबाट