साझा कथा । काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले आज (शुक्रबार) पत्रकार सम्मेलन नक्कली नोट कारोबारीलाई सार्बजनिक गरेको छ ।
साउन २५ गते बिहीबार लु १ प ५ नम्बरको पर्यटक बसलाई नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा सो नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपियाँ १ हजार दरका नक्कली नोट बरामद गरिएको थियो । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको टोलीले चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट १५ लाख नेपाली नक्कली नोट बरामद गरेको हो।
प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा नौ जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ घर भई हाल चाँगु बस्ने ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताए।
प्रहरीका अनुसार सुवेदीको डेरामा यो गिरोहले नक्कली नोट छाप्ने गरेका थियो। प्रहरीले उनको कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भई हाल काठमाडौँको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी तथा सुनकोसी गाउँपालिका घर भई काठमाडौँको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्कीलाई पक्राउ गरिएको छ।
यसैगरी नवलपरासीको सराबल गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका–२ घर भई हाल काठमाडौंको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाडौंको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा र झापा घर भई हाल काठमाडौँको समाखुसी बस्ने २४ वर्षीय युवराज राईलाई समेत प्रहरीले पक्राउ गरेको छ ।