साझा कथा । सामाजिक सञ्जालमा अहिले प्रश्न उठिरहेको छ, ब्रेक शु भित्र लुकाएर ल्याएको १ क्विन्टल भनिएको सुन किन ६० किलो मात्रै भयो ? मंगलबार मात्रै नेपाल राष्ट्र बैँकको टक्सार महाशाखाले ब्रेक शु बाट सुन छुट्याएर पगालेको थियो । पगालेर तौल लिँदा सुनको तौल जम्मा ६० किलो ६१६ ग्राम भएको छ । अहिले सुन गालेर ३४ वटा बिस्कुट बनाइएको छ । सुन गाल्दा थोरै मात्रै (६३ ग्राम) जर्ती निस्किएको छ । अब टक्सार महाशाखाले यसको गुणस्तर परीक्षण गर्नेछ । ३ दिनभित्र गुणस्तर परीक्षण गरिसक्ने महाशाखाले बताएको छ । गाल्नुभन्दा अघि सुनको तौल ६३ ग्राम अर्थात ६ तोला बढी थियो । पगाल्दा सुनको मात्रा धेरै घट्ने अनुमान गरिएपनि जर्ती कम नै निस्किएको छ ।
श्रावण २ गते हङकङबाट नेपाल भित्र्याइएको सुनको विषयमा सुरुवातदेखि नै तौलका विषयमा अनुमानमा आधारित समाचार र टिप्पणी आइरहेको थियो । मोटरसाइकल वा स्कुटरमा लाग्ने ब्रेक शुभित्र लुकाएर भित्र्याइएको अवैध सुन १ क्विन्टल रहेको अनुमान गरिएको थियो । किनकी ब्रेक शु सहित तौल लिँदा १५५ किलो देखिएको थियो । वास्तविक ब्रेक शुको तौल ५५ किलो हुनसक्ने र सुनको तौल १ सय किलो हुन सक्ने अनुमानमा थिए अधिकारीहरु । अधिकारीहरुलाई हवाला दिँदै समाचारहरुमा पनि १ क्विन्टल सुनको न्यारेटिभ बन्यो ।
तर कसैले पनि सुन मात्रै तौलिएको अवस्था थिएन । झण्डै १ महिना राखेपछि वास्तविक सुन निकालेर पगाल्दा अनुमानभन्दा ४० किलो सुन कम देखिएको छ । सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो । बरामद गरिएको ब्रेक शु लाई १ महिनासम्म राष्ट्र बैँक र नेपाली सेनाको निगरानीमा राखिएको थियो । त्यसैले यस बीचमा ब्रेक शुबाट कसैले सुन निकालेर लगेको विश्लेषण गर्न कठिन छ । अहिले सामाजिक सञ्जालमा खासगरी विपक्षी दलका कार्यकर्ताहरुले सरकारको मिलेमतोमा ४० किलो सुन लुकाइएको आरोप लगाइएका छन् । तर यो आरोप ‘कन्स्पीरेन्सी थ्यौरी’ अर्थात ‘शंकाको सिद्धान्त’मा मात्रै आधारित छ । सबै शंकाहरु तथ्यपरक हुँदैनन् ।
सुन भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।