कक्षा १२ को रिजल्टको एउटा पाटो – अंग्रेजीमा किन कमजोर ?

साझा कथा । श्रावण ३० गते साँझ कक्षा १२ को परीक्षाफल प्रकाशित भयो । सामाजिक सञ्जालभर बुबा आमा र आफन्तहरुले छोरा, छोरी, भतिजा, भतिजी, भान्जा भान्जी लगायत १२ कक्षा पास गरेका युवा युवतिहरुहरुको तस्बिर राख्दै बधाई दिए र खुशी साटासाट गरे । सामाजिक सञ्जालमा हेर्दा परीक्षा दिएका सबै विद्यार्थीले ‘ए प्लस’ नै ल्याएको जस्तो गरी हल्लाखल्ला भइरहेको थियो । सञ्जालको एउटा कुनामा बधाई र खुशी साटासाट भइरहँदा त्यो भन्दा कैयौँ गुणा बढी विद्यार्थीहरुको घरमा चिन्ताको बादल थियो, आँशु थियो, आफ्ना सन्तानको तस्बिर फेसबुकमा राखेर बधाई दिन नपाएका बाबु आमाको खिन्न मन थियो ।

कक्षा १२ विद्यालय तहको अन्तिम खुड्किलो हो । त्यहि खुड्किलो पार गर्ने विद्यार्थीको संख्या बराबर खुड्किलोमा चिप्लिएकाहरुको संख्या छ । ५०.९१ प्रतिशतले उच्च शिक्षा अर्थात स्नातक तह पढ्न अनुमति पाउँदै गर्दा ४९.०९ प्रतिशत अस्वीकृत भएका छन् । गत वैशाख २६ देखि जेठ ५ सम्म देशभर सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी थिए । तीमध्ये १ लाख ८९ हजार ७ सय ११ जनालाई उच्च शिक्षामा भर्ना हुने बाटो खुलेको छ । १ लाख ८२ हजार ९ सय २६ जना ननग्रेडिङमा परेर तत्काल उच्च शिक्षामा भर्ना हुन रोकिने भएका छन्  । तर ननग्रेडिङमा परेकामध्ये पनि १ लाख २३ हजार ३ सय विद्यार्थीले भने असोज ६ र ७ गते हुने ग्रेड वृद्धि (पूरक वा मौका) परीक्षामा सहभागी हुन पाउने छन् ।

Photo Source: Kantipur

हुन त गत वर्षको तुलनामा कक्षा १२ को परीक्षाको नतिजामा सामान्य सुधार भएको हो । गत वर्ष ४८.१० प्रतिशत विद्यार्थी स्नातकमा भर्ना हुन योग्य भएका थिए । यस पटक ५०.९१ प्रतिशत विद्यार्थी स्नातकमा भर्ना हुन योग्य भएका छन् । यस आधारमा २.८१ प्रतिशत बिन्दुले नतिजामा सुधार आएको देखिन्छ तर आधा संख्या नै कक्षा १२ मा अनुत्तिर्ण हुनु भने चिन्ताको विषय हो । यसमा हाम्रो शिक्षा प्रणाली, विद्यार्थी र शिक्षक (विद्यालयसमेत) को कमजोरी छ । अनुत्तिर्ण हुने विद्यार्थीहरुलाई विशेषगरी गणित, अंग्रेजी, सामाजिक अध्ययन विषयमा अंक पुगेको छैन । घोकेर पास गर्न नसकिने विषयहरुमा विद्यार्थीहरु कमजोर हुनु विश्लेषणको एउटा पाटो हो ।

तर यो भन्दा चिन्ताजनक विषय सूचना प्रविधि उपयोग र भाषामा अब्बल हुँदै गएको अहिलेको युवा पुस्ता अंग्रेजी विषयमा फेल भइरहेको छ । यस बर्ष अनिवार्य अंग्रेजीमा मात्र १ लाख ९ हजार विद्यार्थी अनुत्तिर्ण भएका छन् । गत वर्षको यो संख्या १ लाख १ हजार थियो । निजी तथा आवासीय विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या धेरै रहेको र सामुदायिक विद्यालयमै पनि अंग्रेजी माध्यमबाट पढाइ भइरहेको सन्दर्भमा अंग्रेजी विषयमा विद्यार्थीहरु कमजोर हुनु आफैँमा आश्चर्यजनक विषय हो । पाठ्यपुस्तकको अलाबा सामाजिक सञ्जालमार्फत र गुगल जस्ता सर्च इन्जिनमार्फत विद्यार्थीहरुले केहि न केहि पढिरहेका छन् । ती नेटवर्कको भाषा समेत अंग्रेजी हुन्छ । अहिले विद्यालयको आधारभूत तहदेखि नै अंग्रेजी माध्यमलाई महत्व दिँदै यसमा मेहनत गरिएको पाइन्छ, धेरै विद्यालयमा अंग्रेजी बोल्न अनिवार्य गरिएको हुन्छ, प्रोजेक्ट कार्यहरु समेत अंग्रेजी माध्यममा गरिएको हुन्छ । तर नजिता ठिक उल्टो आइरहेको छ । यसको अर्थ सिकाईमा कतै न कतै त्रुटी भइरहेको छ ।

यसका पछाडि कैयौँ कारण छन् ।

बढ्दो सामाजिक सञ्जालको प्रयोगले विद्यार्थीहरुमाझ रोमन भाषामा अझ छोटकरीमा लेख्ने बानीको विकास भइरहेको छ, जसको असर परीक्षामा परिरहेको छ । अंग्रेजी चलचित्र, सामाजिक सञ्जाल, गुगल हेर्दै हुर्किरहेको र पढिरहेको नयाँ पुस्तामा बोल्ने कलाको विकास भएपनि लेखन सीप भने विग्रिरहेको छ, जुन नजिताले पनि पुष्टि गर्छ । अहिलेको युवापुस्तामा विरलै कोहि भेटिएला, जो बोल्दा अंग्रेजी नघुसाई बोलोस्, अंग्रेजी नबुझेको होस् । तर छोराछोरीले अंग्रेजी शब्द घुसाएर नेपाली बोल्दा मख्ख पर्ने अभिभावकहरु नतिजातर्फ पनि उत्तिकै सचेत हुन जरुरी छ । विद्यालयमा बुझेर भन्दा पनि घोकेरै पढ्न लगाउने प्रवृत्तिका कारण आन्तरिक परीक्षामा राम्रै नतिजा देखिएपनि बोर्ड परीक्षामा भने अ‍ेपेक्षित नतिजा आइरहेको छैन । यस विषयमा पनि विद्यालयहरुले पनि पुनरावलोकन गर्न जरुरी भइसकेको छ ।

यो सत्य हो, नेपालका ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयहरुमा अहिले अंग्रेजी अध्यापन गर्ने जनशक्तिको कमी छ । कतिपय गाउँपालिकाहरुले पटकपटक माग गर्दा पनि अंग्रेजी पढाउनका लागि शिक्षकहरु गाउँ गइरहेका छैनन् । न्यून तलब, सेवा सुविधा त्यसको पछाडिको मुख्य कारण हो । तर  त्यसको प्रत्यक्ष असर ग्रामिण क्षेत्रका कक्षा १२ का विद्यार्थीहरुमा परिरहेको छ ।

अर्को पक्ष, मोबाइल र ल्यापटपमा अभिषप्त हुन थालेको नयाँ पुस्ता पाठ्यक्रमका विषय भन्दा बाहिरका विषयमा बढी रुची राखिरहेको छ । मोबाइलमा अधिक समय विताउँदा विद्यार्थीहरुको पढ्ने बानी हराउँदै गइरहेको छ । घरमा रहँदाको बढी से बढी समय मोबाइल र ल्याटपटमा विताउने र पाठ्यक्रम बुझेर भन्दा पनि घोकेर पढ्ने विद्यार्थीहरुको बानीले परीक्षामा सकारात्मक परिणाम दिइरहेको छैन ।

कारणहरु जे भएपनि विद्यालयहरुले प्राथमिकता दिइरहेको विषय र अन्तर्राष्ट्रिय भाषाको रुपमा विद्यार्थीहरुले पनि सहज मानिरहेको अंग्रेजीमा विद्यार्थीहरु कमजोर देखिनु आफैँमा आश्चर्यजनक तर चिन्ताजनक विषय हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?