साझा कथा । एउटा सामुदायिक वन कार्यालयको लापरवाहीले कञ्चनपुरमा हात्तीको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयको परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर गएराति जंगली हात्तीको मृत्यु भएको हो ।
“राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ,” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भने । तर हात्तीको पुरै ज्यान ट्याङ्कीमा खसेको देखिन्छ । हात्तीको पछाडीको खुट्टा परेपनि अगाडिको खुट्टा परेपनि वन कार्यालयको लापरवाही प्रमुख कारण हो । कमजोर स्ल्याबसहितको सेफ्टी ट्याङ्की बनाउँदा अनाहकमा जंगली जनावरको मृत्यु हुन पुगेको हो । जंगली जनावर आउन सक्ने स्थानमा खाल्डाखुल्डी राख्ने र खाल्डाखुल्डी पुर्नका लागि कमजोर स्ल्याब निर्माण हुनु व्यवस्थापकीय कमजोरी हो । त्यसमाथि समयमा उद्दार हुन सकेको भए हात्तीको ज्यान बच्न सक्थ्यो ।
मृत्यु भएको जङ्गली हात्ती बथानमा आएको हुनसक्ने र एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने विश्लेषण गरिएको छ । निकुञ्जभित्र संरक्षित जनावरको मृत्यु भएपछि त्यसको अनुसन्धान भइरहेको छ ।