राप्रपाभित्र संकट – राजेन्द्र लिङ्देनको पद खोसेर सरकारमा जाने तयारी

साझा कथा । गत साउन २७ गते नेता रविन्द्र मिश्रको संयोजनमा राप्रपाका संस्थापक अध्यक्ष लोकेन्द्र बहादुर चन्दको निवासमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केहि नेताहरुको बैठक बस्यो । यस्तै बैठक असार २९ गते पनि बसेको थियो तर अर्का नेता पशुपति शमशेर जबराको घरमा । यी बैठकहरु अध्यक्ष राजेन्द्र लिङ्देनलाई खबर नै नगरी बसेका थिए ।

पछिल्लो समय अध्यक्ष लिङ्देनलाई असहयोग गर्ने गरी राप्रपामा बैठक बस्ने, बस्न लागेका बैठकमा असहयोग गर्ने, पार्टीका प्रशिक्षण कार्यक्रमहरु स्थगन गर्ने सम्मका काम भइरहेका छन् । यी सबै क्रियाकलाप र लिङ्देन इतरका नेताहरुबाट भइरहेका गतिविधि लिङ्देनको एउटा पद खोस्नेसँग सम्बन्धित छन् । पद खोसेपछि सरकारमा जाने उनीहरुको तयारी छ । राप्रपाका धेरै नेताहरु संसदीय दलको नेता परिवर्तन गरेर भएपनि सरकारमा जानुपर्ने पक्षमा देखिएका छन् । रविन्द्र मिश्र लगायतका केहि नेताहरु भने अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यक्षमतालाई लिएर प्रश्न उठाइरहेका छन् ।

राप्रपाको संसदीय दलको नेता फेर्नका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले मलजल गरिरहेका छन् । लिङ्देन इतरका नेताहरुलाई भेटेर सरकारमा आउन उनीहरुले आग्रह गरेका छन् । त्यसको बदलामा कोशी प्रदेशमा सरकारको नेतृत्व दिनसकिने उनीहरुको प्रलोभन छ । यस विषयमा लिङ्देन तयार नभएपछि बाँकी नेताहरुलाई फकाउने प्रयास जारी छ । पशुपति शमशेर राणा र शेरबहादुर देउवाबीच विशेष सम्बन्ध रहेका कारण पनि अहिले यो प्रयास भइरहेको राप्रपाका एक नेताको भनाइ छ ।

यहि तयारीस्वरुप लिङ्देनलाई खबर नै नगरी बैठक बसेको हो । राप्रपाका नेताहरुले अध्यक्ष लिङ्देनलाई असहयोग गर्ने क्रममा प्रदेशका विभिन्न कार्यक्रममा पनि असहयोग गरेको छन् । राप्रपाका नेताका अनुसार प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भनिएपनि गुटबन्दीका कारण ती कार्यक्रम सुरु हुन सकेका छैनन् । गण्डकी प्रदेशमा अध्यक्ष लिङ्देन आँफै गएपनि कार्यक्रम सहज रुपमा नभएको नेताहरुले बताएका छन् । अहिले राप्रपाभित्र लिङ्देनविरुद्धका नेताहरुको संख्या पहिचान गर्न थालिएको छ ।

संसदीय दलका नेताविरुद्ध केन्द्रित हुन सांसदको टाउको पनि गन्न थालिएको छ । अध्यक्ष लिङ्देनलाई संसदीय दलको नेताबाट हटाउन लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीहरु सक्रिय भएको स्रोत बताउँछ ।

यी तीन नेता एक हुने अवस्थामा राप्रपाका १४ जना सांसदमध्ये ३ जना मात्रै लिङ्देनको पक्षमा हुनेछन् । अध्यक्ष लिङ्देन आफैँ, धादिङकी सांसद वीना तामाङ र जुम्लाका सांसद ज्ञानेन्द्र शाहीमात्रै संस्थापन पक्षमा देखिन्छन् ।

सांसद विक्रम पाण्डे र धवलशमशेर राणा लगायतका सांसदहरु जतिसक्यो चाँडो सरकारमा जान चाहन्छन् । अहिले गौर हत्याकाण्डको विषयलाई लिएर उपेन्द्र यादवले सरकार छोड्ने हल्लासँगै प्रधानमन्त्री प्रचण्ड राप्रपालाई सरकारमा ल्याउने कसरतमा छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?