‘घण्टी र लौरोले लखेट्ने दिन टाढा छैन’

  • दिनेश रायमाझी

एकीकृत समाजवादीमा मात्रै होइन अहिले एमाले र माओवादी केन्द्रमा पनि त्यस पार्टीको पार्टी सदस्य बनेर काम गर्न धेरै कठिन छ । आर्थिक अवस्था कमजोर हुनेहरुले अब आमनिर्वाचनमा उम्मेदवार बन्न होइन कि पार्टीभित्रै र विभिन्न भातृ तथा जनवर्गीय संगठनहरुभित्र उम्मेदवार बन्न करिब–करिब नसकिने अवस्था छ । धनराशी खर्च नगरी न त संसदीय न पार्टीको आन्तरिक चुनाव लड्न सकिन्छ । अहिले पनि जिल्ला, क्षेत्र, प्रदेश र केन्द्रीय कमिटी तथा अन्य दलगत संगठनहरु भित्र नेतृत्वमा पुगेकाहरुलाई हेर्ने हो भने त्यहाँ कम्तीमा पनि घरबाट निस्किँदा आफूलाई लाग्ने खर्च स्वयंले व्यहोर्नसक्ने हैसियत भएकाहरुकै बाहुल्यता देखिन्छ । आफ्नै खर्चमा एक–दुई जनालाई साथमा लिएर हिँड्नसक्ने आर्थिक हैसियत भएकाहरुमात्रै नेतृत्व तहमा देखिन्छन् । यस्तो भएपछि आम मान्छेका छोराछोरीलाई पलिटिक्समा कसरी आकर्षित गर्न सकिन्छ ? एक कप चियाको अफर गर्न नसक्नेलाई कसले पार्टी सचिव वा अध्यक्षमा सपोर्ट गर्छ ? त्यस्ता हैसियतका कमरेडलाई यी हुने खानेहरुले मान्छे पनि गन्दैनन् । अब वर्गीय राजनीति पनि हुनेखानेले मात्रै गर्न सक्छन्, गरिबको हातमा कुनै पनि राजनीति छैन । यो घोर अलोकतान्त्रिक, असमान र अपमानित हुनुपर्ने राजनीतिक अवस्थाको अन्त्य जरुरी छ ।

राजनीति अहिले भ्रष्टाचारको सहारामा बाँचेर अघि बढिरहेको छ । यसरी राजनीति चल्ने भएपछि कस्तै ठूलो भ्रष्टाचारमा कार्वाही हुन संभव पनि हुँदैन । यो किनभने भ्रष्टाचारमा संलग्नहरुको ठूलो टिम हुन्छ र त्यहाँका सदस्यहरुले वा कुनै एक पक्षले अदालतमा पनि सेटिङ मिलाएकै हुन्छ । कलमको निम एकापट्टी घुमाउँदा आर्थिक कायापलट हुने भएपछि के चाहियो र १ न्यायालयको वासिङ्ग मेशिनबाट धोएर निस्केपछि सबै क्लिन । हेरौं न, के एनसेलमा एक व्यक्ति मात्रैको संलग्नता छ ? त्यसमा कुनै राजनीतिक दलको हात छैन रु ओम्नी घोटालामा विचरा भानुभक्तको मात्रै हात छ ? यिनको चाहनामा यो भ्रष्टाचारको काण्ड भएको थियो त ? निश्चय नै थिएन तर उनी डामिएका छन् । वाइड बडी जहाज काण्डमा राजनीतिक दल सम्मिलित छैनन् रु गिरिबन्धु टि इस्टेटमा कुन दल संलग्न छ भनेर कसलाई थाहा छैन रु सत्तरी करोड कुम्ल्याउने ल्याकत गोकुल बाँस्कोटाको छँदैछैन । धमिजा काण्ड तारिणी चटौत आफू एक्लैले गर्नै सक्दैनथे न त चेज एयर नै हङकङ राना एक्लैले गर्नसक्थे । यी सबै घोटालाहरुमा केही दलहरु नै संलग्न थिए । अर्थात राजनीतिक दलहरुले खासगरी निर्वाचनमा खर्चको जोहो यस्तै किसिमले भ्रष्टाचारको माध्यमबाट गर्छन् भन्ने कुरा ओपेन सेक्रेट हो ।

तर जब काण्डको पर्दाफास हुन्छ अनि तारिणीदत्त चटौत जस्ता मानिसहरुको राजनीति सकिन्छ, गोकुल बाँस्कोटाहरु राजिनामा दिन बाध्य हुन्छन् । यसको अलावा गृह, अर्थ र रक्षा क्षेत्रको माध्यमबाट पनि घुस वा कमिशन राजनीतिक दलहरुले प्राप्त गरिरहने एउटा सिष्टमै बसालिएको छ । चौकी प्रमुखदेखि आइजी बन्दासम्म साइजअनुसारको सुटकेस चाहिने कुरा कसलाई थाहा नहोला १ कुन जिल्लाको सिडियो बन्न कत्रो ब्रिफकेस भन्ने कुरा नबुझ्ने कोही छैनन् । कुन भन्सारमा सरुवा हुन कति भन्ने कुरा पनि जगजाहेर नै छ । रक्षा सौदामा के कस्तो हुन्छ भनेर पनि भनिरहनु नपर्ला । अर्थात राजनीतिक नेक्सस् नभइकिन भ्रष्टाचार गर्ने आँट यति सजिलोसंग कसैले गर्नै सक्दैन । राजनीतिक छत्रछायाँमा नै भ्रष्टाचार मौलाइरहेको छ ।

आजको दिनमा चुनावी खर्च यसरी बढेर गएको छ कि सामान्य आर्थिक हैसियत भएका नेता तथा कार्यकर्ताले चुनावमा भाग लिनसक्ने अवस्था नै छैन । एमालेका युवराज ज्ञवालीजस्ता मुर्धन्य नेताले समेत पैसाको अभावका कारण चुनाव लड्न सक्दैनन् भनेपछि अरुका कुरा गर्नै परेन । खर्च कसरी बढेको छ भने प्रचारमा हिँड्ने कार्यकर्ताका सवारीसाधनमा तेल, दिउँसोमा मासुभात र साँझमा सोमरस, यो चुनावमा हिँड्नेको खाने टायम टेबुल र मेनु हुन् । आमा समूह, युवा क्लब, टोल सुधार समिति, उपभोक्ता समूहलगायत यस्ता अनेकौं समूहहरु छन् जसले समूहको तागत देखाएर उम्मेदवारसँग सहयोगको नाममा पैसाको बार्गेनिङ गर्छन् । बिचरो उम्मेदवार जसको निम्ति एक भोटको महत्व हुन्छ उसले संगठित भोटलाई इन्कार गर्नसक्ने कुरै भएन । तर तिनले भोट दिन्छन् भन्ने ग्यारेन्टी भने हुँदैन ।

किनभने तिनीहरु हरेक उम्मेदवारकहाँ पुगेका हुन्छन् । यसको सिधा प्रभाव पार्टीको आन्तरिक राजनीतिमा समेत परिरहेको छ । कुनै यस्तो कमिटी छैन, कुनै यस्तो जनवर्गीय संगठन छैन, कुनै यस्तो उपभोक्ता समूह छैन, कुनै यस्तो सञ्चालक समिति छैन जहाँ राजनीतिक दलहरु संलग्न नरहेका हुन् र जसको चुनावमा खर्च नगरी जित्न सकियोस् । यस्तो भएपछि माननीय ठेकेदार, मेयर ब्यापारी, अन्य पनि या त ठेकेदार या व्यापारी या त तस्कर या भने डन हुने कुरा सामान्य हुनजान्छ । दुःख नगरी कमाइएको धनबाट घर किन्ने कुरा भएन, महङ्गो गाडी किन्ने कुरा पनि भएन । यस्तैबाट आर्जित धन यस्तैमा खर्च गर्ने र चुनाव जितेर फेरि अर्को पटकको चुनावको निम्ति तयार भएर रहने । तर यस्तो तरिकाले अब राजनीतिलाई अगाडि लैजान मुश्किल छ । एउटा आशा नजगाई राजनीतिले कोल्टे फेर्ने सम्भावना धेरै न्यून छ । देशको मनोविज्ञानमा यो एक–दुई वर्षभित्रमा असामान्य परिवर्तन आएको देखिन्छ । खासगरी सामाजिक सञ्जालले यस्तो परिवर्तन ल्याउन भूमिका खेलिरहेको छ । नेताहरुका गोप्य संवाद बाहिरिन थालेका छन् ।

उनीहरु हिँडेका, गाडी चढेका, गाडीबाट ओर्लिएका, जनतासँग संवाद गरेका भिडियो तथा तस्बिरहरु सार्वजनिक भइरहेका छन्, जसले एक किसिमको तुलना गरेर यिनीहरु त गलत नै रहेछन् भन्ने सन्देश प्रवाह भइरहेको छ । बालेन वा हर्क वा रविहरुका हर्कत जतिसुकै कृत्रिम किन नहोस् तिनका ती गतिविधिले केही गर्छन् कि भन्ने आशा जगाउने काम गरिरहेको छ । राजनीतिक विश्लेषकहरु के भन्छन् भन्ने कुराले जनताको ठूलो हिस्सामा कुनै प्रभाव पार्दैन । जमिनमा के भइरहेको छ जनताले त्यसलाई हेर्ने गर्छन् र त्यसैको आधारमा के गर्ने भन्ने धारणा बनाउने गर्छन् । बालेनको बुल्डोजर आतंकले काठमाडौं आजित भैसकेको छ । तर उसका ट्रोल आर्मीले सञ्चालन गरेको प्रोपोगण्डाले एकातिर उसको श्वेत आतंकमाथि पर्दा हालेर ढाक्ने काम गरिरहेको छ भने अर्कोतिर यसलाई बालेनले ठीक गरिरहेको छ भनेर मान्न बाध्य पारिरहेको छ ।

जबसम्म आफ्नो घर फोरिन्न तबसम्म अरुको घर फोरिँदा रमाइलो लागिरहन्छ र ठिक काम गरेजस्तो लागि रहन्छ । यस्तो धारणा किन पनि बनिरहेको छ भने यिनीहरुले जाबो पार्किङको व्यवस्थापन गर्न सकेनन्, सडकजाम हटाउन पनि सकेनन् र काठमाडौंमा सफा वातावरण बनाउन त झनै सकेनन् । बालेनले नबोलेरै यी अति सामान्य कामहरु गरेर देखाउन सफल भए । पुराना दलकाले भने काम गर्ने समयमा थोत्रा गाला बजाएर सुत्ने काम गरे । धेरै मान्छेको मनमा आशा मरिसकेको अवस्था छ । यो मरिसकेको अथवा मर्न लागेको आशालाई जगाउन सक्नु नै आजको राजनीतिमा सफल हुने एकमात्र सूत्र हो ।

संसदभित्र एमालेको गतिविधिले उहाँहरू ‘ग्याङ्ग अफ फिलिबस्टर’ हो कि भन्ने देखिन्छ । असली मुद्दामा बहस होइन कि असली मुद्दालाई डिरेल गर्न होहल्ला गरिरहेको भान हुन्छ । एमालेहरु सोच्दा हुन् कि संसद् अवरुद्ध गरेर पार्टीले जनताको आवाज उठाउने काम गरिरहेको छ र यो कामलाई जनताले राम्रो मानिरहेका छन् तर यस्तो पटक्कै होइन । यो कामलाई जनताले नकारात्मक रुपले लिइरहेका छन् । कतै आफ्नो संलग्नता रहेकाले त यस्तो गरिरहेको हैन भन्ने किसिमको भाष्य बनिरहेको छ । संभव छ भने सर्वे गराएर हेरे पनि हुन्छ । अन्त्यमा, अहिले लौरो र घण्टी बजाएर गाउँघरमा जनताले बाँदर लखेटिरहेका छन् । यस्तै निराशा कायम रहिरहेमा काङ्ग्रेस र तथाकथित कम्युनिष्टहरुलाई घण्टी र लौरो चुनाव चिन्ह भएकाहरुले राजनीतिबाट लखेटेर नेटो कटाउने दिन धेरै टाढा छैन । बेलैमा बुद्धि फर्कियोस् ।

(यो लेखकका निजी विचार हुन्)

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?