विशेष बन्दै चक्रपथ विस्तारः तीन ठाउँमा ‘अन्डरपास’, सडकको बीचमा ‘मेडिन’

साझा कथा । दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी-महाराजगन्ज खण्ड विशेष हुने भएको छ । कोटेश्वर-कलंकी खण्ड विस्तार गर्दा देखिएका समस्याहरुलाई सम्बोधन गर्दै निर्माण गर्न लागिएको दोस्रो खण्डको चक्रपथ विस्तार विशेष बन्न लागेको हो । विशेषतः गाडि गुड्ने अन्डरपास र सडकको बीचमा मेडिन निर्माण गरि यो खण्डको बिस्तार गर्न लागिएको हो ।

चक्रपथ विस्तार गरिए पनि सडकको मुख्य चोकहरुमा अन्डरपास नहुँदा कार्यालय समयमा सवारीसाधनहरु लामो समयसम्म ट्राफिक जाममा पर्नु परेको र रातको समयमा विपरित दिशाबाट आएका सवारी साधनको बत्तीको प्रकाश आँखामा पर्ने गरेको गुनासो आएका कारण सो समस्यासमेत समाधान हुने गरि सडक विस्तार गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

सोही अनुसार कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो । यी कामका लागि चीनसँग सहमति भइसकेको छ । उनले भने, “यसअघि चक्रपथको सो खण्डलाई कोटेश्वर–कलङ्की जस्तै विस्तार मात्र गर्ने सहमति भए पनि बढ्दै गएको सवारी चाप तथा मानवीय आवागमनलाई ध्यानमा राख्दै ‘अन्डरपास’ समेत निर्माण गरिदिन प्रस्ताव गरिएकोमा चिनियाँ पक्षले त्यसमा सहमति जनाएको हो ।”

महानिर्देशक  ढकालका अनुसार केही दिनअघि नेपालका लागि चीनका राजदूतलगायतको टोलीले ‘अन्डरपास’ निर्माण गरिने ठाउँको अवलोकन गरेको थियो । त्यसपछि सो कार्यका लागि नेपाल र चीनबिच सो सहमति भएको हो ।

दोस्रो चरणमा चक्रपथको कलङ्कीदेखि नारायणगोपाल चोकसम्म ८.२ किलोमिटर विस्तार गर्न लागिएको हो । चक्रपथको कलङ्कीदेखि धोबीखोला (चाबहिल) पुलसम्मको कुल लम्बाइ ११.६ किलोमिटर छ । कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ । महाराजगन्जदेखि कोटेश्वरसम्म तेस्रो चरणमा विस्तार गरिने सडक विभागले जनाएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?