लठ्ठीको सहारामा किताब च्यापेर पढ्न जान्छन् ९० वर्षीया डाँगी

साझा कथा । उमेरले ९० बर्ष पुगेका तुलसीपुर–१ भमके निवासी प्रेमबहादुर डाँगीको स्कुल जाने रहर अहिले पूरा भएको छ । त्यसो त उनले आफ्नो पढ्ने रहर पूरा गर्ने प्रयत्न नगरेका भने होइनन् । उनलाई सानै उमेरदेखि पढ्ने इच्छा हुँदाहुँदै पनि जिन्दगीका बाध्यता सधैँ बार बनिरहे । ९० वर्षको यो प्रयासमा भने बल्ल उनी विद्यालय भर्ना भएका छन् ।

पढ्न चाहनेका लागि उमेरले छेक्दैन भनेजस्तै ९० वर्षीय प्रेमबहादुर डाँगी पिठ्युँमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार सहित हरेक दिन विद्यालय जान्छन् ।

अहिले उनी दाङ जिल्लाको सुनपुरस्थित वीरेन्द्र माध्यमिक विद्यालय भ्यूडहरका विद्यार्थी हुन् । पढ्न चाहनेका लागि उमेरले छेक्दैन भनेजस्तै ९० वर्षीय प्रेमबहादुर डाँगी पिठ्युँमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार सहित हरेक दिन विद्यालय जान्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग पढ्दै आफ्नो दिनचर्या बिताउँछन् ।

उनको पनातिसमेत छन्, तर पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी कक्षा १ मा पढ्न थालेका छन् । चालु शैक्षिक सत्रदेखि उनले कक्षा १ को पढाइ शुरु गरेका हुन् । उनी पढ्नकै लागि घर (भमके)बाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर विद्यालय पुग्छन् । ‘सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्”, उनले भने, ’बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ।’
घरमा पनि उनी नातिहरूसँग बस्दै आएका छन्। उनको श्रीमतीको निधन २०३२ सालमै भयो । जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आएका छन् । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ । उनले आफू बाँच्दासम्म पढिरहने बताए ।

‘उनी पढ्नमा पनि त्यति कमजोर छैनन् ।’ कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका भन्छन् ‘कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएका छन् ।’ अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उनले राम्रोसँग पढ्न सकेका छन् । उनको यो उमेरमा विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?