फेरि चिसै पानीले नुहायो एमालेले, सर्वदलीय बैठकमा ओली र नेम्वाङबीचको विवाद छताछुल्ल

साझा कथा । विपक्षी बेञ्चमा पुगेपछि संसद अवरोध गर्ने बानीको विकास गरिरहेको नेकपा एमाले पछिल्लो समय संसदीय अभ्यासमा कमजोर साबित हुँदै गएको छ । प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएपछि लगातार संसद अवरोध गर्दै आइरहेको एमालेले अगाडी सार्ने कुनै पनि माग पुरा भने हुने गरेका छैनन् । फेस सेभिङका लागि कुनै एउटा सहमतिमा आफ्ना मागलाई विसर्जन गर्दै आइरहेको एमालेले पछिल्लो पटक पनि चिसै पानीले नुहाएको छ ।

यसअघि प्रधानमन्त्रीको राजीनामा माग राखेर संसद अवरुद्ध गरेको एमालेले प्रधानमन्त्रीको प्रष्टिकरणमै चित्त बुझाएको थियो । त्यसपछि फेरि गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको एमालेले गृहमन्त्रीको स्पष्टिकरणमै चित्त बुझाएको थियो । पछिल्लो चरणमा सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोगको माग गरेको एमालेले माग पुरा नहुँदै संसद खोल्न राजी भएको छ । बुधबार संसद खोल्नका लागि राजनैतिक पार्टीहरुबीच दुई बुँदे सहमति भयो ।

सत्ता पक्ष प्रमुख प्रतिपक्षी दल एमालेको मागका आधारमा सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठनका लागि तयार भएपछि संसद्मा जारी अवरोध बुधबारदेखि खुल्यो । ‘दलहरूबीच व्रेक शुमा भएको सुन तस्करी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले निश्पक्ष छानबिन गर्नेछ, उसैले अभियोजन गर्छ, अर्को इलेक्टिोनिक सिगरेटमा भएको सुन तस्करीलगायतमा निश्पक्ष छानबिन गर्न असोज ५ गते उच्चस्तरीय छानबिन समिति गठन गर्ने र त्यसैदिनबाट काम गर्ने सहमति भएको छ,’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकपछि सञ्चारकर्मीहरूसँग बताए ।

सिआईबीको छानविन सकेपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसअघि संसदमा भनेका थिए । सिआईबीको अनुसन्धान मान्दैनौं, उच्चस्तरीय समितिले छानविन गर्नुपर्छ भन्दै एक महिना संसद अबरुद्ध गरेको एमालेले अर्को एक महिनापछि सुझाब दिने समिति बनाउने सहमतिमा हस्ताक्षर गरेको छ । यसको अर्थ एमाले आफ्नो मागबाट पछि हट्दै फेस सेभिङका लागि १ महिनापछि आयोग बनाउने कुरामा सहमत भएको हो । सो अवधिसम्म सीआईबीले आफ्नो अनुसन्धान सकेर प्रतिवेदन बुझाइसक्नेछ । सीआईबीले ललिता निवास काण्डमा पुर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव कुमार नेपाललाई साक्षी बनाउँदै ४ पूर्व मन्त्रीसहितका व्यक्तिहरुलाई प्रतिवादी बनाउन सिफारिस गर्दै प्रतिवेदन बुझाएको छ । सुन तस्करीका सम्बन्धमा सीआईबीको अनुसन्धान जारी छ ।

केपी ओली र सुवास नेम्वाङबीच घोचपेच
यसैबीच माथि उल्लेखित सहमति कायम भएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्वाङबीचको विवाद छताछुल्ल भएको छ । लगातार संसद अवरुद्ध हुँदै आएकोमा आफ्नै पार्टी विरुद्ध अभिव्यक्ति दिएका नेम्वाङमाथिको रिस ओलीले सर्वदलीय बैठकमा देखाएका हुन् । नेम्वाङले केहि दिन अघि एमालेले लगातार संसदमा गरिरहेको अवरोध असंवैधानिक र अराजनीतिक भएको बताएका थिए । त्यसप्रति ओली असन्तुष्ट रहेको बताइएको छ ।

सोमबार बसेको सर्वदलीय बैठकले कार्यदल गठन गरी सहमतिको ड्राफ्ट गर्ने जिम्मा नेम्वाङलाई दिएको थियो । कार्यदलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सदस्य थिए । कार्यदलले तयार पारेको सहमतिको ड्राफ्ट आजको बैठकमा पेश गरिएको थियो । त्यसैका आधारमा दुई बुँदे सहमतिमा हस्ताक्षरसमेत भएको छ ।

तर, ड्राफ्ट गर्दा पर्याप्त ध्यान नदिएको भन्दै बैठकमै ओलीले सुवाससँग आक्रोश पोखेपछि घोचपेचपूर्ण सवाल–जवाफ भएको थियो । सहमतिपत्रमा उल्लेख भाषा र शव्दप्रति चित्त नबुझाएका ओलीले सबैका सामु हेपेर बोलेपछि असहज महसुस गरेका सुवासले पनि कडै जवाफ फर्काए ।

सुवासतिर हेर्दै ओलीले पहिले नेपाली भाषा सिकाउनुपर्ने जस्तो छ भनेर कटाक्ष गरेका थिए । सबैका सामुन्ने अध्यक्षले त्यसो भनेपछि अपमानित महसुस गरेका सुवासले पनि नेपाली भाषाको ज्ञान भए आफैँ बुझ्नुपर्ने हो भनेर प्रतिकार गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुसँग भने ओलीको खासै कटाक्ष भएन ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?