रास्वपाले ‘मधेसीको सम्मान’ गरेपछि सबै समितिमा सभापतिहरु निर्विरोध

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधि सभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले उम्मेदवारी दर्ता गरेकामा पराजुलीले फिर्ता गरेपछि खान पनि निर्विरोध भए । पराजुलीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘मधेसीको सम्मान’ स्वरुप उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उनले मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने पात्र र मधेसलाई प्रतिनिधित्व गर्ने व्यक्तिसँग प्रतिष्पर्धा गर्न उचित नहुने ठानेर उम्मेदवारी फिर्ता लिएपछि १० वटै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भए ।

सोमबार दिउँसो सभामुख देवराज घिमिरेले नवनिर्वाचित समिति सभापतिहरूलाई शपथ खुवाए । समिति सभापतिमा नेकपा (एमाले) बाट सार्वनजिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साह सभापति बनेका छन् । पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंह सभापति बनेका छन् । सिंहलाई माओवादीले आफ्नो भागमा परेको समिति सुम्पिएको हो । कोशी प्रदेशमा सरकारलाई सघाउने र केन्द्र सरकारमा पनि सहभागी हुने सहमतिमा राप्रपालाई एउटा समिति दिइएको हो ।

यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टीका अब्दुल खान सभापति बनेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव सभापति बनेका छन् । नेपाली कांग्रेसबाट राज्यव्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)की विमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे सभापति चुनिएका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी निर्विरोध भएका छन्।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?