साझा कथा । समय र परिस्थिति अनुरुप चाडपर्व, जात्रा र संस्कार/संस्कृतिहरुमा परिमार्जन हुन थालेको छ । पुस्तान्तरण हुँदै जाँदा संस्कृतिमा आएको परिवर्तन र बसाईं सराईले मासिएको संस्कृति जोगाई राख्नु चानचुने कुरा होइन । तर, धादिङ र गोरखा जिल्लाबाट काठमाडौं आई बसोबास गरेका आरुघाटका नेवार समुदायले भने आफ्नै पुख्र्यौली थलोमा जस्तै काठमाडौंमा गाईजात्रा निकालेका छन् ।
विशाल नगर नेवा गुठी र धादिङ गोरखा आरुघाट समाजले तारकेश्वरस्थित जरङ्कुमा संयुक्त रुपमा आयोजना गरेको गाईजात्रामा कुनै पनि परिवर्तन नगरी आरुघाटको सक्कली गाईजात्रा कार्यक्रम प्रस्तुत गर्यो । ‘हामी आरुघाटवासीहरु धेरै जना विभिन्न परिस्थितिले काठमाडौंमा आई बसेका छौं । उहाँहरु सबैलाई एकीकृत गर्ने र संस्कृति परम्पराको जगेर्ना गर्ने उद्देश्यले यस कार्यक्रमलाई वृहत्तर बनाउँदै लगेका छौं ।’ गुठीका अध्यक्ष हिरामान अमात्यले भने – ‘सोही क्रममा यस वर्ष अघिल्ला वर्षभन्दा अझ भव्य रुपमा गाईजात्रा, लाखेनाच, टाकटुके नाच र खैजडीलाई संयुक्त रुपमा प्रस्तुत गरेका हौं ।’ धादिङ गोरखा आरुघाट समाजका अध्यक्ष दिनेशकुमार ढकालले सबै समुदायको चाडपर्वमा सबै समुदाय रमाऔं र संस्कृति बचाऔं भन्ने अभियान अन्तर्गत नेवार समुदायको पर्वमा ब्राम्हण/क्षेत्रीले खैजडी नाचसमेत प्रदर्शन गरेको र आगमी भदौ २० गते हुने कृष्ण जन्माष्टमीमा पनि यसैगरि संयुक्त रुपमा भव्य कार्यक्रमको आयोजना गर्ने तयारी गरेको बताए ।
नेवार समुदायमा एक वर्ष भित्रमा निधन भएका व्यक्तिको घरमा गाई निकाल्ने परम्परा अनुरुप यस वर्ष स्व. पदमकुमारी श्रेष्ठको नाममा छोरा दिपेन्द्रकुमार श्रेष्ठले गाई निकालेका हुन् । गाईजात्रामा प्रस्तुत गरिएको लाखे नाच, टाकटुके नाच र खैडजी नाचका केही झलक साझा कथामा प्रस्तुत गरेका छौं ।