साझा कथा । सात पटक एसिया कपको उपाधि जितिसकेको भारतसँग आज नेपालले खेल्दैछ । एसिया कप अन्तर्गत समूह ‘ए’ को अंक तालिकामा एक अंकसहित भारत दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको नेपालले हालसम्म खाता खोल्न सकेको छैन । पाकिस्तानसँगको खेल बर्षाका कारण रद्द भएपछि भारतले समान १ अंक बाँडेको थियो । पाकिस्तान र भारतबीचको खेलमा भारत विजयी भएको भए नेट रनरेटका आधारमा भारत नै सुपर ४ मा पुग्नेथियो । सो खेल रद्द हुँदा नेपाललाई फाइदा नै भएको छ ।
आज हुने खेलमा जित निकाल्ने देश सुपर फोर चरणमा पुग्नेछ । त्यसैले आज हुने नेपाल र भारतबीचको खेल दुबै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ । पाकिस्तान भने यसअघि नै ३ अंकसहित प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ ।
आज हुने खेल दुबै टोलीका लागि ‘गर या मर’ को स्थितिमा छ । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार, ३ः१५ बजे सुरु हुनेछ । नेपाल र भारत यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा भिडेका थिएनन् । नेपालले बलियो टेस्ट राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नै यही एसिया कपमा हो ।
एसिया कपको उद्घाटन खेलमा नेपाली टोली पहिलो पटक पाकिस्तानसँग भिडेको थियो । तर, फराकिलो रन अन्तरले नेपाल पराजित भएको थियो । नेपाली टोलीका लागि भारत निकै ठूलो प्रतिद्वन्द्वी हो । आजभन्दा ४८ वर्षअघि सन् १९७५ मा भारत र पाकिस्तान एकदिवसीय विश्वकपको पहिलो संस्करण खेलिरहेका थिए । त्यतिबेला नेपाली क्रिकेट आफ्नै देशभित्र अस्तित्वको खोजीमा थियो ।
नेपाली क्रिकेटले सन् १९९६ मा मात्र आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । नेपाली टोलीले सन् १९९६ को सेप्टेम्बर ६ तारिखमा मलेसियामा औपचारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । त्यो एसीसी ट्रफी क्रिकेट प्रतियोगिता थियो । यस हिसाबले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको भर्खर २७ वर्ष पुग्दैछ ।
यस्तो स्थितिमा भारतजस्तो विश्व क्रिकेटको हस्ती राष्ट्रलाई चुनौति दिने आत्मविश्वास बोकेर मैदानमा ओर्लनु नै नेपाली टोलीका लागि ठूलो उपलब्धि हो । तर, प्रतिद्वन्द्वी जतिसुकै बलियो भए पनि हरेक टोली जित्नकै लागि मैदानमा ओर्लने हो भन्ने कुरालाई नेपाली खेलाडीले राम्ररी बुझेका छन् । किनभने आफूभन्दा बलिया टोलीसँगको खेलमा हात पार्ने हरेक सफलताले नेपाली क्रिकेटको इतिहासमा नयाँ इतिहास कोर्ने पक्का छ । अर्थात, पहिलो पटक सहभागिता जनाइरहेको नेपालले यसपटक एसिया कपमा जुन सफलता हात पार्छन् ती सबै ऐतिहासिक हुनेछन् ।