बन्द भयो ‘रुटिन अफ् नेपाल बन्द’

साझा कथा । नेपाली युवाहरुमाझ लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द (RONB) बन्द भएको छ । यो पेजलाई धेरै युवाहरुले ‘रुटिने’, ‘रुटु’ लगायतका नामले पुकार्दै आएका थिए । ४० लाख फलोअर्स भएको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको हो ।

पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका छन् । उनको स्टाटस अनुसार पेजलाई ‘अनपब्लिस’ गरिएको छ । उनले लेखेका छन्, ‘अब अट्याक गर्नु पर्दैन, स्वार्थले खोलेको थिएन तै भएर बाल छैन। बाँकि कुरा पछि गरौला ।’ केही समय अघि पौडेलले फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो ।

शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकार विरुद्ध असभ्य स्टाटस लेखेपछि भोलीपल्ट आइतबार विहान पब्लिक सेन्टिमेन्ट विषयान्तर गर्ने गरी रुटिन अफ नेपाल बन्दले बालेन दम्पत्तिले छोरीलाई जन्म दिएको उल्लेख गरेको थियो । ९ दिनअघि नै छोरी जन्मिएपनि सो फेसबुक पेजले गलत सूचना प्रवाह गरेको भन्दै जनमानसबाट व्यापक विरोध भएको थियो । मेयर बालेन शाह निकट मानिएको रुटिन अफ नेपाल बन्द सोहि प्रकरणका कारण बन्द भएको बताइएको छ ।

द्वन्द्वकाल र त्यसपछिको शान्ति प्रक्रियाका दौरान धेरै हुने गरेको नेपाल बन्दको सूचना दिने गरी सो पेज खोलिएको थियो । समयक्रममा सो पेज समसामयिक सूचना र समाचार दिने प्लेटफर्म बनेको थियो । रुटिन अफ नेपाल बन्दको आधिकारिक पेज बन्द भएपछि अहिले त्यहि नामबाट दर्जनौँ पेज खुलेका छन् । तर ती सबै पेज भिक्टर पौडेलले खोलेको नभई अरुले मौकाको फाइदा लिन खोजेका हुन् ।

रुटिन अफ नेपाल बन्दलाई बन्द गरिएको घटनालाई लिएर केहिले ४० लाख शुभेच्छुकमाथिको धोकाको संज्ञा दिएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?