श्री कृष्ण जन्माष्टमीको महिमा (तस्बिरहरु सहित)

साझा कथा । हिन्दुधर्माबलम्बी र श्री कृष्णका भक्तहरुको लागि बुधबार विशेष दिन । भाद्रकृष्ण अष्टमीको रातको १२ बजे मथुरा सहरको झ्यालखानामा वासुदेवकी पत्नी देवकीको गर्भबाट सोह्रकला सम्पन्न श्रीकृष्णको जन्म भएको थियो । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।

यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनला ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंशको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए । बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

यस अवसरमा आज देशका विभिन्न शक्तिपीठ (खासगरी कृष्णमन्दिर) हरुमा विशेष मेला लाग्ने गर्दछ । पाटनको मंगलबजारस्थित कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ ।

पुर्विय दर्शनमा चार युगको अस्तित्वलाई विशेष महत्वका साथ व्याख्या गरेको पाइन्छ । जव–जव पृथ्वीमा ठूला–ठूला संकटहरु आइ पर्छन् तव–तव भगवानले मनुष्यको रुपमा जन्म लिइ असत्य माथि सत्यको जित गराउन र मानव सभ्यतालाई निर्वाध रुपमा अगाडि बढाउन महत्वपुर्ण भूमिका खेलेको व्यहोरा विभिन्न शास्त्रहरुमा अध्ययन गर्न पाइन्छ ।

तस्बिरहरुः केशब गुरुङ

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?