शेयर बजार घटेको रिस – “गभर्नर महाप्रसादको निधन”

साझा कथा । सामाजिक सञ्जाल संवेदनाहीन देखिन थालेको धेरै भइसक्यो । व्यक्तिगत आक्रोश, कुण्ठा र आवेग पोख्ने ठाउँ बनेको सामाजिक सञ्जाल यति असंवेदनशील बनेको छ कि, जिउँदो मानिसलाई निधन भनेर प्रचार गर्ने गरिएको छ । यस्तै भएको छ गभर्नर महाप्रसाद अधिकारीलाई पनि ।

नेपालमा शेयर बजारका खेलाडीहरु अहिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुध्द छन् । शेयर बजारको उच्च गिरावटमा अधिकारी कारक रहेको निश्कर्ष निकालेका शेयर लगानीकर्ताहरु केहि समयअघि देखि अधिकारीविरुद्ध खनिँदै आएका छन् । उनीहरुले सामाजिक मूल्य मान्यता र संवेदनालाई तिलाञ्जली दिँदै अधिकारीलाई जिउँदै मारेका छन् ।

क्रसबोर्डर डिजिटल भुक्तानीको व्यापार गर्न इच्छुक कम्पनीहरुमाथि पक्षपातपूर्ण व्यवहार गरेका गभर्नर अधिकारी डिजिटल पेमेन्टसम्बन्धी कार्यक्रममा सहभागी हुन यतिबेला भारतमा छन् ।

यहि मौकामा सेयर चलखेलबाट आफ्नो दुनो सोझ्याउँदै आएका केही सेयर कारोबारीले सामाजिक सञ्जालमा गभर्नर अधिकारीको सवारी दुर्घटनामा मृत्यु भएको अतिरञ्जित सन्देश पोष्ट गरेका छन् । गभर्नर विरोधी जनमतलाई आश्वस्त पारेर पुँजी बजारमा हलचल ल्याउने, भाउ बढेको मौकामा आफ्ना सेयर बिक्री गर्ने रणनीतिअनुसार उक्त हर्कत गरिएको पुँजी बजार विश्लेषकहरुको बुझाई छ ।

‘शेयरबजारको मनोबिज्ञानवेत्ता–बुलबहादुर’ नामक फेसबुक अकाउण्टमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सवारी दुर्घटनामा परी निधन स्टाटस लेख्दै उहाँको फोटोसँगै नक्कली दुर्घटनाको तस्बिर पोष्ट गरिएको छ । उक्त पोष्टलाई नेपाल शेयर मार्केट नामक खाताबाट अमृत भण्डारीले सेयर गरेको देखिन्छ ।

हिजो लेखिएको उक्त स्टाटसलाई सेयर बजारका खेलाडीहरुले व्यापक सेयर गरेर पुँजी बजार प्रभावित पार्न खोजेको अर्थ लगाइएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?