साझा कथा । एसिया कपमा विना अंक स्वदेश फर्किन परेको नमीठो अवस्थाका बीच महिला राष्ट्रिय क्रिकेट टोली फेरि एक पटक २० ओभरको महिला विश्वकप ग्लोबल क्वालिफायरमा पुग्न विफल भएको छ । मलेशियामा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी २० विश्वकप प्रतियोगिता अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपाल थाईल्यान्डसँग ४६ रनले पराजित भयो ।
टस जितेर फील्डिङ रोजेको नेपालले थाईल्यान्डबाट १०५ रनको लक्ष्य पाएको थियो । नेपाली बलर कविता कुँवरले ओपनर सुवनन खियाओतोको विकेट पहिलो ओभरमै लिएकी थिइन् । तर त्यसपछि नानापत कोन्चारेन्काईले सर्वाधिक ५९ रन तथा नाथाकन चान्थमले ३१ रन बनाएपछि थाई टोलीको स्कोर १०० नाघेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालका खेलाडीहरुले फितलो प्रदर्शन गरे । नेपाली टोली ५९ रनमा अलआउट भयो ।
महिला टोली अहिलेसम्म विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेको छैन । राम्रो प्रदर्शन गरे पनि अन्तिम खड्गोका रूपमा रहेको थाईल्यान्ड वा यूएईलाई पन्छाउन नसक्दा नेपाल निराश हुँदै आएको छ । दुई वर्षअघि सन् २०२१–२२ मा यूएईमा भएको ग्लोबल छनोटमा पनि त्यस्तै भएको थियो । त्यतिखेर पनि थाईल्याण्ड नै नेपालको लागि बाधक बनेको थियो ।
सन् २०१८ मा भएको छनोटमा पनि नेपालले त्यस्तै दुर्भाग्य बेहोरेको थियो । नेपालले लीग चरणका छमध्ये पाँच खेल जिते पनि निर्णायक खेलमा थाईल्यान्डलाई पन्छाउन नसक्दा खाली हात फर्कनुपरेको थियो । नेपाल थाईल्यान्डसँग ५७ रनले पराजित भएको थियो ।