मुटु रोग विशेषज्ञ डा. कोइराला अब वीर अस्पतालमा

साझा कथा । मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले उमेर हदका कारण त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) बाट अवकाश पाए सँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका छन् । अब उनी न्याम्समा भिजिटिङ प्रोफेसरको रुपमा एकेडेमिक (शैक्षिक) कार्यक्रममा सहभागी हुनेछन् भने वीर अस्पतालमा मुटु उपचार सेवामा योगदान समेत गर्ने भएका छन् ।

उनी गतसाता देखि न्याम्समा आबद्ध भै वीर अस्पतालका एक बिरामीको जटिल शल्यक्रिया समेत गरिसकेका छन् । उनले आफू वीर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि काम गर्ने बताए ।

त्रिवि आईओएम अन्तर्गतका विभिन्न अस्पतालमा गरी २८ वर्ष फ्याकल्टीको रुपमा काम गरेका कोइराला पछिल्लो समय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरबाट सेवा दिएका थिए । उमेर हदका कारण उनी सोही संस्थाबाट गत ९ साउनमा अवकाश पाएका थिए ।

‘आम नागरिकको मुटु उपचारका लागि मैले अहिलेसम्म मनमोहनबाट सेवा दिईरहेका थिएँ । तत्काललाई मैले त्यो सेवा न्याम्स अन्तगर्तको वीरबाट दिने योजना बनाएको छु । म त्यहाँ शैक्षिक कार्यक्रममा पनि सहभागी हुने हो । वीरमा दुई दिन ओपिडी र दुई दिन शल्यक्रिया गर्ने कि भन्ने योजना छ । तर अन्तिम निर्णय भइसकेको छैन,’ प्रा.डा. कोइरालाले भने ।

उनले वीरमा दुई दिन ओपिडी र दुई दिन शल्यक्रिया गर्ने योजना अघि सरेको र अन्तिम निर्णय हुन बाँकी रहेको अस्पतालका निर्देशक डा।सन्तोष पौडेलले जानकारी गराए । डा।कोइरालाको वीरको आगमनले वीरको मुटु विभागका साथै पुरै अस्पताल र शैक्षिक कार्यक्रममा समेत सुधार हुने अपेक्षा लिइएको डा।पौडेलले बताए ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्राडा कोइराला, पछिल्लो समय गैर नाफामुलक रुपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) परियोजना सञ्चालन गर्ने योजनामा लागेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?