साझा कथा । अहिले सामाजिक सञ्जालमा एउटा भाष्य जबर्जस्त छ, यो देशका सबै नेता चोर हुन् । नेताहरुलाई एउटा काण्डले दानव र एउटै काण्डले देवता बनाउन उद्यत हुने यहि समाज हो । अनि जसलाई राक्षस देख्छन्, उसैलाई चुनावमा भारी मत दिएर जिताउने पनि यहि समाज हो ।
केहि दिनदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएर आराम गरिरहेका नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ सोमबार राति सुतेपछि कहिल्यै नउठ्ने गरी अस्ताए । अप्रत्याशित र आकस्मिक निधनपछि नेम्वाङको प्रशंसा गर्ने भीड बाक्लिएको छ । हुन त मृत्युपछि अधिकाँश व्यक्तिको प्रशंसा नै गर्ने गरिन्छ । उसका गलत क्रियाकलापहरुलाई भुल्ने गरिन्छ । खासगरी संविधानसभामा उनले खेलेको भूमिकालाई लिएर नेम्वाङको महिमागान गरिएको छ ।
अरु नेता जस्तो धेरै विवादमा नआएका पात्र हुन् नेम्वाङ । मृदुभाषी र शालीन नेम्वाङ पार्टीभित्र र बाहिर पनि निक्कै रुचाइन्थे । गिरिजाप्रसाद कोइरालाको जस्तै उनको पनि एक सुत्रीय धारणा थियो, सहमति र सहकार्य । पछिल्लो समय नेम्वाङ शान्ति प्रक्रियाको बाँकी विषय टुंगोमा पुर्याउने अन्तिम कसरतमा थिए । उनको यो चाहना अधुरै रह्यो ।
पद र शक्तिका हिसाबले राम्रो अवसर प्राप्त गरेका नेता हुन् नेम्वाङ । थुप्रै अवसर दिएपनि अन्तिममा नेकपा एमालेले एउटा चाहना पुरा नगरिदिँदा नेम्वाङको खड्को बाँकी नै रह्यो । जीवनको अन्तिम दिनहरुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको उनको सम्बन्ध विग्रिएको थियो । लगातार संसद अवरुद्ध गरिरहँदा एमालेले असंवैधानिक काम गरेको भन्दै नेम्वाङ रिसाएका थिए । यसलाई लिएर ओली रिसाएका थिए ।
ओलीसँग नेम्वाङको धेरै चित्त दुखाई भने राष्ट्रपतिको चुनावताका भयो । एमालेभित्र सुवास नेम्वाङ राष्ट्रपतिको बलियो दाबेदार थिए । नेम्वाङको शालीन र भद्र व्यक्तित्वले पार्टी बाहिर पनि उनी राष्ट्रपति हुनुपर्ने धारणा बलियो थियो । यहि बीचमा प्रधानमन्त्री प्रचण्डले सुवास नेम्वाङलाई राष्ट्रपति बनाउन ओलीसँग आग्रह गरेका पनि थिए । तर ओली ईश्वर पोख्रेललाई राष्ट्रपति बनाउन चाहन्थे । आफ्नो नाम ओलीले अस्वीकृत गरेपछि नेम्वाङको मन दुखिरहेको थियो । ८ महिनादेखि दुखिरहेको नेम्वाङको मनमा मल्हम नलाग्दै उनले संसार छोडे ।
सोमबार राति अप्रत्यासित रुपमा निधन भएका नेम्वाङको अन्त्यष्टि राजकीय सम्मानका साथ हुँदै छ । नेम्वाङको अन्त्यष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ । संविधान निर्माणको चरणमा नेम्वाङको महत्वपूर्ण योगदान रहेपनि विवादरहित भने भएनन् । पहिलो संविधानसभा विघटन गराउन मुख्य भूमिका खेलेको र संविधानका अन्तरबस्तुमा नेम्वाङले धोका दिएको माओवादीको आरोप थियो ।
सुवास नेम्वाङले क्रिष्टियन धर्म अबलम्बन गर्दै आएको बताइन्छ । क्रिष्टियन भएकै कारण नेम्वाङमाथि नेपालको संविधानमा धर्म निरपेक्ष घुसाएको आरोप लाग्ने गरेको थियो । तर उनले सो आरोप खण्डन गर्दै आएका थिए । नेम्वाङ संविधानसभाको अध्यक्षका अलावा न्याय मन्त्री, सामान्य प्रशासन मन्त्री र सार्वजनिक लेखा समितिको सभापति पनि भइसकेका व्यक्ति हुन् ।
सुवास नेम्वाङ उच्च मध्यम वर्गीय परिवारका सदस्य थिए । उनका पिता जिल्ला न्यायाधिस थिए । दुई विवाह गरेका नेम्वाङ दुई छोरा र दुई छोरीका पिता हुन् । २०१० सालमा जन्मिएका उनले विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका गरेका थिए । विसं २०२८ सालमा अनेरास्ववीयूबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य भएका थिए । २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।
नेम्वाङको निधनपछि राजनीतिक वृत्त स्तब्ध भएको छ । सबै दलका शीर्ष नेताहरुले नेम्वाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् भने जनस्तरमा पनि नेम्वाङका राम्रा गुणको चर्चा भइरहेको छ । नेम्वाङको निधनपछि बसेको नेकपा एमालेको आकस्मिक सचिवालयको बैठकमा नेम्वाङ बस्दै आएको कुर्सीमा माला राखिएको थियो जुन तस्बिरले धेरैको मन छोएको छ र भावविह्वल बनाएको छ ।