नेपालमा बढ्दो आत्महत्याः पछिल्लो १० वर्षमा ५६ हजार बढी सिकार

साझा कथा । कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्यलाई नै आत्महत्या भनेर बुझिन्छ । जो व्यक्तिहरुले आत्महत्याको प्रयास अथवा आत्महत्या गर्दछन् त्यस मध्ये ९५ प्रतिशत व्यक्तिहरुलाई कुनै न कुनै किसिमको मानसिक रोग हुन्छ भन्ने कुरा तथ्याङ्कहरुले पुष्टि गरेको छ । त्यस मध्ये धेरै जसो व्यक्तिहरुमा आत्महत्याको कारण भनेको उदासिनता वा डिप्रेसन हुने गर्दछ । बाँकी ५ प्रतिशत व्यक्तिहरुमा भने कहिलेकाहीँ एक्कासि तनावपूर्ण अवस्थामा पनि आत्महत्याको प्रयास हुने गर्दछ । जुन मानसिक रोगले नभएर एक्कासि हुने घटनाक्रमसँग अथवा तनावसँग लड्न नसकेर हुने गर्दछ ।

यसैबीच, अहिले नेपालमा आत्महत्याको घटना बढ्दो क्रममा रहेको छ । पछिल्लो १० वर्षको तथ्याङ्क हेर्ने हो भने ५६ हजार बढीले आत्महत्या गरिसकेको रिर्पोट सार्वजनिक गरिएको छ । यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो । गत आर्थिक वर्षमा मात्रै झण्डै सात हजारले आत्महत्या गरेका थिए । विसं २०७० मा चार हजार पाँच सय जनाले आत्महत्या गरेकामा १० वर्षपछि आव २०७९/८० मा सो सङ्ख्या बढेर सात हजार पुग्नु चुनौतीपूर्ण अवस्था रहेको मनोविद् तथा मनोचिकित्सक बताउँछन् ।

अझ कोभिड-१९ को समयमा आत्महत्या गर्नेको सङ्ख्या बढेको थियो । त्यसैले, यसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा हेरेर रोकथामतर्फ लाग्नुपर्नेमा विज्ञहरूको जोड छ । आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका रहने उनीहरुको भनाइ छ ।

एक दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउने मात्र नभई वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूको जोड छ । सरकारले आत्महत्या रोकथामका नीति ल्याउनुपर्ने, सङ्घसंस्था तथा स्थानीय तहले पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना बताउँछन् । सञ्चारमाध्यमबाट पनि रोकथाम तथा न्यूनीकरणका लागि सन्देशमूलक र सावधानी अपनाउने गरी समाचार सम्प्रेषण गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने उनको विश्वास छ ।

आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै सङ्केत दिने र गतिविधि देखाउने हुँदा ख्याल गर्न सकियो भने रोक्न सकिने मनोविद् डा. ठगुन्ना बताउँछन् । परिवार वा अरुले बेवास्ता गरेमा मात्रै ऊ आत्महत्याको बाटो रोज्न पुग्ने उनको भनाइ छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?