हेटौंडामा ७८ डाक्टरले दिए सामुहिक राजीनामा, मृतकका परिवार नै हिरासतमा

साझा कथा । उपचारको क्रममा विरामीका आफन्तहरुबाट कुटिएको प्रकरणमा हेटौंडा अस्पतालका ७८ जना चिकित्सकहरुले सामुहिक राजिनामा दिएका छन । स्वास्थ्य संस्थामा काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।

डाक्टर कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्य संस्थामा शुक्रबार आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प रहेको छ । नेपाल चिकित्सक संघमा आबद्ध चिकित्सकहरू र स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारेका छन् ।

भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो । ज्यान मार्ने उद्देश्यले डाक्टरहरूमाथि आक्रमण भएको उनीहरूको भनाइ छ । डाक्टरहरू गम्भीर घाइते भए पनि दोषीमाथि कानुनी कारबाही नभएको भन्दै चिकित्सकहरूले विरोध गरेका हुन् । आकस्मिकबाहेक अन्य सेवा सञ्चालन गर्न असमर्थ रहेको जानकारीसहितको पत्र चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।

नागरिक अगुवा र मानव अधिकारकर्मीहरूले भने स्वास्थ्य संस्था बन्द गर्नु अमानवीय भएको भन्दै तत्काल वार्ताबाट समाधान खोज्न सुझाव दिएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै उनका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए । प्रधानको काजक्रिया गर्नुपर्ने बेला उनका परिवार नै हिरासतमा बसेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?