एसिया कप फाइनल आज – भारत र श्रीलंकाबीच भिडन्तका अंकहरु

साझा कथा । अनिश्चयका बीच सुरु भएको एसिया कप क्रिक्रेटको फाइनल खेल आज (आइतबार) हुँदैछ । सुपर फोरमा बंगलादेशसँग पराजित भएपनि फाइनल पुगेको भारत र पाकिस्तानमाथि सनसनीपूर्ण जीत निकालेको श्रीलंका आज प्रतिस्पर्धा गदैछन् ।

भारत र श्रीलंकाका टीमका बीचमा एकदिवसीय खेलमा १६६ पटक भेट भईसकेको छ । जसमा भारत हावी हुँदैं आईरहेको छ । १६६ खेलमध्ये भारतले ९७ खेल जितेको छ भने श्रीलंकाले ५७ पटक जितेको छ । ११ पटकको नतिजा आएको थिएन । एउटा खेलमा भने बराबरी भएको थियो ।
आइतबार एसिया कपको फाइनल खेल श्रीलंकाको कोलम्बोको केआर प्रमदासा मैदानमा हुँदैछ । भारत सुपर ४ मा पहिलो स्थानमा र श्रीलंका दोस्रो स्थानमा रहेर फाइनल पुगेका हुन् । बंगलादेश तेस्रो र पाकिस्तान चौथो स्थानमा रहे ।

भारत यो खेल जितेर आठौं पटक एसिया कप जितेर च्याम्पियन हुन चाहिरहेको छ । उसले पछिल्लो पटक २०१८ मा रोहित शर्माको कप्तानीमा खेल जितेर च्याम्पियन बनेको थियो । श्रीलंका पनि यो खेल जितेर चौथो पटक एसिया कप उचाल्न आतुर छ ।

भारत र श्रीलंकाको एसिया कप फाइनलमा १३ बर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । दुई टिमका बीचमा एसिया कप फाइनलमा पछिल्लो पटक सन् २०१० मा प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा भारतले जितेको थियो । भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा खेलेको उक्त खेलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गरेको थियो ।

भारत र श्रीलंकाका बीचमा फाइनलमै भने यो नवौं पटकको भेट हो । जसमध्ये ५ पटक भारतले खेल जितेको थियो । तीन पटक श्रीलंकाले जीत निकालेको छ । क्रिक्रेट प्रेमीका लागि आजको खेल निक्कै उत्सुकताको खेल बनेको छ । अझ भारत र पाकिस्तानबीच फाइनल खेल भएको भए त्यसको रौनकता अझ बढी हुने थियो ।

सामाजिक राजनैतिक हिसाबले दुश्मनजस्ता देखिने भारत र पाकिस्तानले क्रिकेट खेललाई आफ्नो स्वाभिमानसँग पनि जोडेर हेर्ने गर्छन् । तर सुपर फोरमा पाकिस्तानले भारतसँग नमीठो पराजय व्यहारेको थियो । ३५६ रनको लक्ष्य दिएको भारतले पाकिस्तानलाई १२८ रनमै समेटेको थियो । यति फराकिलो अन्तरमा पाकिस्तानले भारतसँग हारेको पहिलोपटक हो । सुपर फोरको अन्तिम खेलमा अन्तिम बल बाँकी रहँदा पनि श्रीलंका र पाकिस्तानबीच खेल कसले जित्छ भन्नेमा द्वीविधा थियो । अन्तिम दुई बलमा ६ रन चाहिएको श्रीलंकाले एक चौका र अन्तिम बलमा २ रन नै जोडेर पाकिस्तानलाई स्तब्ध पारेको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?