साझा कथा । भोजपुर जिल्लाको टेम्कमैयुङ गाउँपालिकामा अवस्थित महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बनेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्छ। सडकको सहज पहुँच भएसँगै पर्यटकको आगमन बढेको स्थानीयवासी बताउँछन्। झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मनै लोभ्याउने गरेको छ ।
झरनाको अझ प्रचार–प्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत विकासमा टेवा पुग्ने स्थानीयवासी बुद्धप्रसाद राईले बताए। विषेशगरी गर्मीको समयमा धेरै पर्यटकहरुको आगमन हुने उनले बताए । शनिबार र अन्य बिदाको समयमा आन्तरिक पर्यटक पनि विभिन्न ठाउँबाट घुम्न आउने गरेको उनको भनाइ छ ।
‘गाउँपालिकाको वडा नं ४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगतका वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको स्थानीयले बताउने गरेका छन् । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ। खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् ।
गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झरना वरिपरि पर्यटकलक्षित संरचना निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए। यो झरना गाउँपालिकाको पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको उनको भनाइ छ।
‘महभिर झरना पर्यटकको रोजाइको पर्ने पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ’, प्र्रशासकीय अधिकृत न्यौपानेले भने, ‘दैनिक उल्लेख्य संख्यामा मानिस पुग्ने गरेका छन्। हामीले यसको विकास तथा संरक्षणमा ध्यान दिएका छौँ। यसको थप विकास तथा विस्तारमा भावी दिनमा काम गर्ने योजना छ ।’
यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम गर्ने गाउँपालिकाले जनाएको छ। यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आगमनका लागि काम गर्ने योजना रहेको गाउँपालिकाको भनाइ छ । रासस