साझा कथा । असोज ३ गते नेपालले संविधान दिवस मनाउँदै आएको छ । २०७२ मा बनेको नेपालको संविधानपछि हामीले ८ बर्ष गुजारिसकेका छौँ । मुलुकले ७० बर्षको अन्तरालमा ७ वटा संविधान पायो । राणाकाल, प्रजातन्त्र काल, पञ्चायत काल र फेरि प्रजातन्त्र पुनस्र्थापनासम्म आउँदा ५ पटक संविधान जारी भइसकेको थियो ।
२०४७ सालमा जारी भएको संविधानका मूलभुत विषयमा असहमति राख्दै नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गर्यो । पछि माओवादी समेतको सहभागितामा २०६३ को अन्तरिम संविधान हुँदै २०७२ सालमा नयाँ संविधान जारी भयो । विश्वका कैयौँ राष्ट्रले शासक अनुकुलका संविधान बनाएका छन्, कैयौँ राष्ट्रले जनतालाई केन्द्रमा राखेर संविधान बनाएका छन् ।
नेपालमा पनि २०६३ को अन्तरिम संविधानअघि शासकलाई केन्द्रमा राखेर संविधान बने । तर अहिले अवस्था बदलिएको छ । २०७२ को संविधानले प्रत्याभूत गरेका मौलिक हकको उपयोग हुने क्रम जारी छ । संवैधानिक ग्यारेन्टीका कारण देशका सबै जातजाति, भाषाभाषी, महिला, बालबालिका, वृद्धवृद्धादेखि विभिन्न तह र तप्काका नागरिकले आफ्ना हक अधिकार प्रयोगमा खुलापन अनुभुत गरेका छन् ।
नेपाली जनताको ठुलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधान जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्ष लागेको छ । संविधान दिवस मूल समारोह समितिले असोज २, ३ र ४ गते विशेषरूपमा संविधान दिवस मनाउन आह्वान गरे अनुसार देशभर विभिन्न कार्यक्रमका साथ सातै प्रदेश तथा स्थानीय तहमा पनि संविधान दिवस मनाउने क्रम जारी छ ।
यसैक्रममा अहिले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह समितिले आयोजनामा विशेष कार्यक्रम आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेकाले समारोहमा प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, संवैधानिक निकाय प्रमुख, सुरक्षा निकायमा प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको छ ।