काठमाडौंमा द्रुत बस – जहाँ पायो त्यही रोकिनेछैन

साझा कथा । काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधारको पहल स्वरुप बुधबारदेखि द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सञ्चालन गरेको बस सेवा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार बस सञ्चालन भएपछि ४०–४५ मिनेटमा रत्नपार्कदेखि सूर्यविनायकसम्म पुग्न सकिन्छ । बस सञ्चालनका लागि ‘लेन मार्किङ’ र अन्य तयारी पूरा भइसकेको छ । बिहीबारदेखि दैनिक २५ वटा बस यस नियमअनुसार सञ्चालन हुनेछन् ।

गत सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायत निकायसँग बैठक बसेर संविधान दिवसको दिनदेखि बस सेवा सुरु गर्न निर्देशन दिएका थिए । सोहीअनुसार यातायात व्यवस्था विभाग, सडक विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघले द्रुत बस सेवा सञ्चालन गर्न थालेका हुन् ।

पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । द्रुत बस सेवा सञ्चालनका लागि १९ वटा स्टप कायम गरिएको छ । ती स्टपमा यात्रुलाई झार्ने र चढाउने गरिनेछ । तर बस त्यहाँ धेरैबेर रोकिने छैन ।

द्रुत बसमा अन्य सार्वजनिक बससरह नै भाडा लाग्नेछ । सडक विभागले द्रुत बस सञ्चालन गर्ने लेन नै छुट्याएको छ । भइरहेकै सडकको लेनमा मार्किङ तथा ठुल्ठूला अक्षरमा द्रुत बस गुड्ने लेनबारे जानकारी दिइएको छ । द्रुत बस जहाँ पायो त्यही रोकिनेछैन । यो बस हिँड्ने समयमा सो लेनमा अन्य सार्वजनिक यातायातका साधनहरु गुड्न पाउने छैनन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?