साझा कथा । नेपाली रुपैयाँको भाउ भारतीय रुपैयाँमा निर्भर छ । नेपालले आफ्नो मुद्राको विनिमय दर भारतीय रुपैयाँसँग स्थिर राखेको छ – १०० भारु बराबर १६० नेरु । भारुको भाउ घट्नु भनेको नेपाली रुपैयाँ स्वतः घट्नु हो । भारु तलमाथि हुँदा त्यसको बुई चढेको नेरु पनि सँगसँगै तलमाथि हुन्छ । भारतीय रुपैयाँ भने अमेरिकी डलरको घटबढसँग सम्बन्ध राख्छ । अहिले डलरको भाउ आकाशिएको छ ।
खासगरी अमेरिकी केन्द्रीय ब्याङ्क फेडरल रिजर्भले लिने ब्याजदर घटबढ हुँदा डलर सस्तो हुने वा महंगो हुने निर्धारण हुन्छ । अमेरिकामा बैँकको ब्याजदर उच्च हुँदा लगानीकर्ताहरू स्वाभाविक रूपमा डलरतर्फ आकर्षित हुन्छन् । अनि त्यसको भाउ बढ्छ । अहिले भइरहेको त्यहि हो । अमेरिकामा ब्याजदर लाई ५.२५ प्रतिशत र ५.५० प्रतिशतको बीचमा हुने गरी तोकिएको छ । यो व्याजदर २२ बर्ष यताकै उच्च हो । अमेरिकामा व्याजदर बढ्दा भारतीय लगानीकर्ताहरुले पैसा जति अमेरिका लैजान्छन् । यता भारतीय रुपैयाँको भाउ भने घट्छ ।
अमेरिकी डलरको भाउ बढ्दा नेपालमा के हुन्छ ?
डलरको भाउ बढ्दा नेपालका कुनै कुनै क्षेत्रमा फाइदा पनि पुग्छ । पहिलो नम्बरमा रेमिट्यान्स आय पर्छ । गत साउनमा रेमिट्यान्स आयले नयाँ कीर्तिमान बनाएको छ । यसको परिमाण गएको वर्ष लगातार बढ्नुमा एउटा कारण अमेरिकी डलरको भाउ बढ्नु पनि हो । विदेशी मुद्रामा उति नै आम्दानी गरे पनि विनिमय दरका कारण नेपाली रुपैयाँमा त्यो बढी हुन पुग्छ । दशौँ लाख नेपाली घरपरिवारले रेमिट्यान्स थाप्ने हुँदा त्यसको सकारात्मक असर पर्छ ।
दोस्रोमा पर्यटनमा हुने आम्दानी पर्छ । यदि बिलिङ डलरमा गरिएको छ भने फाइदा हुन्छ । तर नेपाली रुपैयाँअनुसार तिर्ने गरिएको छ भने झन् कम डलर आउन सक्छ ।
तेस्रो फाइदा भनेको निर्यात हो । उही सामान उही दरमा झिकाउँदा पनि नेपाली निर्यात सस्तो हुन्छ र त्यसले विदेशी आयातकर्ता नेपालबाट सामान झिकाउन थप प्रोत्साहित हुन सक्छन् ।
डलरको भाउ बढ्दा के वेफाइदा ?
डलरको भाउ बढ्दा नेपालजस्तो आयातमा निर्भर देशलाई सबभन्दा ठूलो मार महँगीमा पर्न सक्छ । दाल र तरकारीदेखि इन्धन अनि लुगाफाटा सबैसम्म सबै वस्तुको भाउ बढ्छ । चाहे विदेश पढ्न जाने हो वा घुम्न जाने हो हवाईजहाजको टिकटदेखि सबै कुरा महँगिन्छन् ।
अर्को असर देशको व्यापार सन्तुलनमा पर्छ । असार मसान्तमा सकिएको गत आर्थिक वर्षमा नेपालले १६ खर्ब ११ अर्ब रुपैयाँको आयात अनि जम्मा १ खर्ब ५७ अर्बको निर्यात गर्न सक्यो । अनि विदेशी विनिमय सञ्चितिमा पनि असर पर्छ । डलरको लागि महंगो तिर्नुपर्ने भएपछि डलर सञ्चिति हुँदैन । जसले देशको सोधनान्तर अवस्थामा गिरावट आउँछ ।
-वीवीसीको सहयोगमा