चीन पुगेलगत्तै प्रधानमन्त्री प्रचण्ड र चिनीयाँ राष्ट्रपतिबीच भेटवार्ता, खुल्लान् नयाँ नाका ?

साझा कथा । आफ्नो एक साता लामो भ्रमणको शिलशिलामा चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन पुगेको भोलीपल्टै चिनीयाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्टसंघको महासभामा भाग लिएर शनिबार चीन पुगेका प्रधानमन्त्री प्रचण्डले हाङ्जाओमा शनिबार नै राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि ‌प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो ।

उनीहरुबीच नेपाल र चीनको सीमानामा रहेका केहि नयाँ नाका खोल्ने विषयमा कुराकानी भएको स्रोतले बताएको छ । २०६५ सालमा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा चीन र नेपालबीच अहिले सञ्चालनमा रहेका बाहेक १ दर्जन बढी ठाउँमा नाका खोल्ने समझदारी भएको थियो । तर पछि समझदारीलाई सम्झौताको रुप नदिँदै सो सूचना नेपाली सरकारी अधिकारीहरुबाटै चुहिएपछि योजना तुहिएको थियो । सँगै प्रचण्ड नेतृत्वको सरकार प्रधानसेनापति प्रकरणका कारण ९ महिनामै ढलेपछि चीनले यो विषय स्थगीत गरेको थियो । सूचना चुहिएपछि चीनसँग नयाँ नाका खोल्ने विषयमा भारतले तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्टि जनाएको थियो । कतिपयले प्रचण्डको पहिलो कार्यकाल ९ महिनामै टुंगिनुपर्नेमा चीनसँग नयाँ नाका खोल्ने विषय पनि एउटा कारण भएको विश्लेषण गर्छन् । अहिले फेरि पुरानै मुद्दा व्युँताउने गरी छलफल अघि बढेको हो ।

दुई देशका अधिकारीहरु सम्मिलित भेटवार्तामा अहिले संचालनमा रहेका तातोपानी नाका र रसुवागढी नाकालाई व्यवस्थित बनाउने र द्वीपक्षीय व्यापार प्रवद्र्धन गर्ने विषयमा पनि कुराकानी भएको थियो । यस्तै दुई पक्षीय भेटवार्तामा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा पनि कुराकानी भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्ड मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि चीन पुगेका हुन् । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए ।

प्रधानमन्त्री प्रचण्ड सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ पुग्ने छन् । बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

उक्त भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् । सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् । महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम छ ।

यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । यसैगरी उनले चीनस्थित नेपाली राजदूताबासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरुको सहभागिता रहने छ । सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवद्र्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ । सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरु पनि चीन पुगेका छन् ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । प्रचण्ड सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।

तस्वीरहरु : प्रधानमन्त्रीको सचिवालय

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?