चीनले फेरि प्रचण्डलाई विश्वास गर्न थालेको हो ?

साझा कथा । २०६५ साल भदौ २ गते नेपालको प्रधानमन्त्रीमा पहिलोपटक निर्वाचित भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चीनले निक्कै विश्वास गर्थ्यो । माओत्सेतुङको विचारधारा बोकेर सशस्त्र युद्ध गरेको माओवादी स्वभाविक रुपमा चीनसँग नजिक थियो । तर माओवादी भित्र पनि भारत लबि भएका नेताहरु पनि थिए । तर प्रचण्ड भने चीनतर्फ नै ढल्किएका थिए ।

प्रधानमन्त्री भएपछि पहिलो औपचारिक भ्रमण भारतबाट हुने नेपालको परम्परा तोड्दै प्रचण्ड त्यतिखेर चीन गएका थिए । यसलाई चिनीयाँ व्युरोक्रेसीले सकारात्मक ढंगले लिएको थियो । तर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डले पहिलो राजनैतिक भ्रमण भारतबाटै सुरु हुने अभिव्यक्ति दिए जुन विवादमा आयो । यो अभिव्यक्तिलाई लिएर भारत प्रचण्डसँग थोरै खुशी पनि भयो तर चीन भने रुष्ट भयो ।

त्यसयता प्रचण्डले सम्बन्ध सुधारका लागि  दर्जनौँपटक आफ्ना नेताहरुलाई चीन पठाए । आफूँ पनि आधा दर्जन पटक चीन पुगे । खासगरी भारत र चीनबीच एकअर्काको कार्ड खेल्न माहिर प्रचण्डको ढुलमुले प्रवृत्ति भन्दै केहि विश्लेषकहरुले प्रचण्डलाई चीनले विश्वास गर्न छोडेको बताउने गर्थे । दोस्रो पटक प्रधानमन्त्री हुँदा चीन गएका प्रचण्डलाई पहिलोपटक जस्तो सम्मान दिइएको थिएन । अहिले तेस्रो पटक प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गर्दा फेरि प्रचण्डले २०६५ सालकै जस्तो सम्मान पाएका छन् । चिनीयाँ राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय जनकँग्रेसका अध्यक्षले प्रचण्डलाई दिएको विशेष महत्व हेर्दा प्रचण्डलाई चीनले फेरि विश्वास गर्न थालेको विश्लेषण गरिएको छ ।

शनिबारदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । बेइजिङस्थित ग्रेट हल अफ त पिपुलमा प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चिनियाँ सेनाको विशेष टिमले ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङ पनि सहभागी थिए । प्रधानमन्त्रीको राजकीय भ्रमणको बेला ‘गार्ड अफ अनर’ दिनु सबै राष्ट्रको चलन हो । तर चिनिया जनकङ्ग्रेसका अध्यक्ष झाओ लेचिले समेत प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई चीनले विशेष महत्त्व दिएको बताउनुले उनले उच्च सम्मान पाएको देखिन्छ । प्रधानमन्त्री प्रचण्ड र चिनिया जनकङ्ग्रेसका अध्यक्ष झाओ लेचीबीच सोमबार ग्रेट हल अफ पिपल्समा भएको द्विपक्षीय वार्ताको क्रममा अध्यक्ष लेचिले यस्तो बताएका हुन् ।

चिनिया जनकाँग्रेस नेपालको विकासका लागि सहकार्य गर्न तत्पर छ, उनले भनेका छन् । यस्तै चिनियाँ प्रधानमन्त्री लि छ्याङले पनि प्रचण्डको पछिल्लो भ्रमणले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् ।

माओवादी नेता रामदिप आचार्यले भने, ‘विश्वको एक उदयमान महाशक्ति चीनले नेपालीका प्रधानमन्त्रीलाई गरेको सम्मानको विषेश अर्थ र महत्त्व रहेको छ ।’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?