साझा कथा । फिरन्ते जीवनशैली भएका राउटेहरू विभिन्न जंगलहरूमा बसाइँ गर्दै बस्ने गर्छन् । जंगलमा पुगी काठका कोषी मदुस बनाई त्यसलाई गाँउमा गएर अन्न पातसँग साटेर जीविका धान्ने गर्छन् ।
दिनभर काठका सामग्री निर्माण गर्नु, बाँदरको शिकार गर्नु, माग्नका लागि नजिकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या हो । आफूले बनाएको काठको भाँडा बोकेर अन्न साट्न गाउँमा पुग्ने र फर्केर आउन भ्याउने समय अन्दाज गरेर यिनीहरू वासको प्रबन्ध गर्छन् । वनको हरियो स्याउला र घोचाहरूद्वारा गोलाकार र अण्डाकार छाप्रो वरिपरि बनाएर बीचमा केटाकेटी खेल्न र महिलाले धान कुट्न, निफन्र्नका लागि सम्म परेको ठाउँ राख्छन् ।
तर, अहिले उनिहरुको जीवनशैलीमा धेरै परिर्वतन आइसकेको छ । कुनै बेला पैसा छुँदा पाप लाग्छ भन्ने मान्यता राख्दै आएका राउटे जाती अहिले भने गुजरा टार्नका लागि विभिन्न निकाएलाई सहयोगका लागि गुहार्दै छन् । यसैबीच, लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो ।
अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च बापत रु २५ हजार उपलब्ध गराएका हुन् । सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो । उनीहरु प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन् । केही दिनदेखि उनिहरु दाङ र त्यसका आसपासका सरकारी कार्यालयमा गई दशैँ खर्च माग्दै आएका छन् ।