साझा कथा । विहीबार विभिन्न संचार माध्यममा एउटा ‘बिग न्युज’ प्रकाशन प्रसारण भयो । सबैजसो अनलाइन माध्यमहरुले व्यानर न्युज बनाएको खबर हो, राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तिहरु हिँडेरै ईन्द्रजात्रा हेर्न बसन्तपुर पुगे । रेडियो टेलिभिजनले पनि प्रमुखताका साथ यो खबर प्रसारण गरे । सायद शुक्रबार प्रमुख छापा माध्यममा पनि यो खबरले प्राथमिकता पाउने छ । सबैजसो संचारमाध्यमले ‘हिँडेरै’ शब्द जोडेर समाचारमा हाइलाइट गरेका छन् । समाचार पढ्नेले सोँच्न सक्छन्, उच्च पदस्थहरु कार्यालयबाटै हिँडेर बसन्तपुरसम्म पुगेछन् कि ? तर भएको त्यस्तो होइन, बढीमा २ सय मिटर हिँडेका हुन् उनीहरु । राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थहरू न्युरोडको जुद्धशम्शेरको शालिकदेखि बसन्तपुरसम्म हिँडेर ईन्द्रजात्रा हेर्न पुगेका हुन् । २०० मिटर हिँडेर कार्यक्रमस्थल पुगेकोमा ठूलो काम गरेजसरी केहि उच्चपदस्थ व्यक्तिहरुको अनुहार मख्ख पनि देखिन्थ्यो । सामाजिक सञ्जालमा पनि त्यति बाटो हिँडेकोमा उनीहरूको प्रशंसा नै भएको छ ।
नेपालमा भीआइपी कल्चर व्याप्त छ । औपचारिक वा अनौपचारिक कार्यक्रममा जाँदा कार्यक्रमस्थल अझ स्टेजको नजिकै पुगेर सवारी रोक्ने र उनीहरु ओर्लने संस्कृति छ । ‘भीआइपी प्रोटोकल’को नाममा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, समामुख लगायतका व्यक्तिहरुलाई अनावश्यक सुरक्षा दिने र सवारी आवागमन नै अवरुद्ध हुने गरी उनीहरुको सवारी गराउने गरिन्छ । यो कल्चरलाई राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले केहि हदसम्म सच्याउने प्रयास गरेका छन् । कुमारीको दर्शन गर्न जाँदा होस् या भोटो देखाउने जात्रामा जाँदा होस् वा सरकारको नीति कार्यक्रम सार्वजनिक गर्न जाँदा होस्, अघिल्लो राष्ट्रपति विद्या भण्डारीको पालामा जस्तो सडक खाली गर्ने, सडकमा हिँड्न खोजेका बटुवाहरुलाई लछारपछार गर्ने जस्ता काम भएका छैनन् । भण्डारीले ‘प्रोटोकल’ भएकोले यसलाई सच्याउन नसकिने तर्क गर्दै आएकी थिइन् तर पौडेलले यसलाई सहजै सहज बनाइदिएपछि उनको प्रशंसा पनि हुने गरेको छ ।
भीआइपी कल्चरमा अभ्यस्त भइसकेको नेपाली समाजमा भीआइपीहरु हिँडे भनेपछि खुशी नहुने कुरै भएन । त्यहि कारण हुन सक्छ प्रमुख समाचारहरुमा यो विषयले प्राथिमकता पाएको ।
विहीबार उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत ईन्द्रजात्रा हेर्न पुगेका थिए । सबैजना जुद्धसम्शेरको शालिकबाट हिँडेर बसन्तपुर पुगेका थिए । उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन् ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा सुरु भएको छ । आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्न सर्वसाधरणदेखि मन्त्रीहरुको बसन्तपुरमा चहलपहल सुरु भएको हो । इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटकहरु पनि बसन्तपुर पुगेका छन् ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।