एनआरएनमा परिवर्तन एकसाथ, त्यसको लागि उभिए राज

साझा कथा । विगत २ दशकदेखि कतारलाई आफ्नो कर्मभूमि बनाउँदै आएका सफल युवा व्यवसायी हुन् राजु रेग्मी ‘राज’ । एनआरएन अभियानमा उदीयमान तथा उर्जाशिल देखिने रेग्मी व्यवसायीका अलावा समाजसेवीका रुपमा पनि परिचित छन् । उनै राज गैर आवासीय नेपालीहरुको संगठन एनआरएनएमा उपाध्यक्षको उम्मेदवार बनेका छन् । एनआरएनए अभियानको यात्रालाई निरन्तरता दिदै राजले आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

‘विशेष गरेर मध्यपूर्व वा श्रमिकको मुलुकबाट पनि एनआरएनएमा चासो राख्ने, राम्रो लिडरशिप गर्न सक्ने क्षमताका व्यक्तित्व पनि छन् भन्ने देखाउनुपर्ने अवस्था आएको छ,’ राजले भनेका छन् ।

राज यसअघि एनआरएनए आइसीसी मध्यपूर्वका युवा संयोजक, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका युवा उपाध्यक्ष र विभिन्न टास्क फोर्सका संयोजक भइसकेका व्यक्ति हुन् । उनले एनआरएनएलाई एक सुढृढ, सफल र सक्षम संस्थाको रुपमा विकास गर्ने दृढ संकल्प बोकेका छन् । जसको लागि उनले केहि एजेण्डाहरु अघि सारेका छन् । एनआरएनएमा सबैको अपनत्व बोध गराई युवा पुस्ताको मुद्दा स्थापित गराउने, एनआरएनएमा पद्दति र पारदर्शिता बढाउने, एनआरएनएमा दोस्रो पुस्ताका नेपालीलाई आकर्षित गर्ने, एनआरएनएका सीप, स्रोत र दक्षतालाई नेपालमै प्रयोग गर्ने वातावरण बनाउने र नेपालमा पर्यटन प्रवद्र्धनसँगै सुरक्षित लगानी मैत्री वातावरण निर्माणका लागि सहयोग गर्ने लगायत उनका लोकप्रिय नारा हुन् ।

उम्मेदवारी घोषणासँगै उनले सामूहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता जनाएका छन् ।

उनले थपेका छन्, ‘नेपालको सम्भाव्य क्षेत्रको पहिचान गरी गैरआवासीय नेपाली संघको अभियान मार्फत सामुहिक लगानी गरेर छिटो भन्दा छिटो हाम्रो देशलाई समृद्ध बनाउनु छ । त्यो नै मेरो मुख्य एजेन्डा हो ।’

दोश्रो पुस्तालाई एनआरएनसँग जोड्ने ग्लोवल एनआरएन सिंगिङ आइडलका परिकल्पनाकार समेत रहेका राज गैर आवासीय नेपाली संघका राइजिङ्ग स्टार जस्ता देखिएका छन् । त्यसैले होला उनका समर्थकहरुले भनेका छन्, “हाम्रो रहर परिवर्तन एकसाथ, त्यसैले यसपाली राजु रेग्मी ‘राज’ ।”

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?