साझा कथा । नेपालमा बढ्दो बेरोजगारीका कारण देश छोड्ने युवाहरुको संख्या दिनप्रतिदिन बढिरहेको तथ्याङले देखाएको छ । देशमा बसेर केही गर्न नसकिने भन्दै युवायुवतीहरुले विदेश पलायन हुने गरेको पाइएको छ । चाहे खाडी देश गएर किन नहोस् जे गर्नु छ विदेशमै गएर गर्ने हो, देशमा गरी खाने बाटो छैन भन्दै देश छोड्नेहरुको ताँती लागेको छ । अहिले स्कुल र प्लस टु मा अध्ययन गरिरहेका बिद्यार्थीले पनि उच्च शिक्षको लागि अष्ट्रिलिया, अमेरिका, क्यानडा, यूके लगायतका देशमा गएर आफ्नो सुनौलो भविष्यको स्थापित गर्ने निर्णय लिइसकेका छन् ।
विदेश पलायनका निम्ति नेपाली युवाहरुमा यतिसम्मको भुत सवार छ की आफ्नो ज्यानको समेत प्रवाह नगरी ४० लाख देखि ८० लाख सम्मको खर्च गरेर गैरकानूनी रूपमा ३ देखि ६ महिनाको पैदल यात्रा गरी अमेरिका सम्म पुग्ने गरेका छन् । पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको संख्या यो वर्ष चार लाख नाघेको छ।
गत वर्षको तुलनामा यो संख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको हो । ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने यो बाटोमा घना जङ्गल छ। जङ्गली जनावरको डर उत्तिकै छ भने विभिन्न किसिमका खोलानाला पार गर्नुपर्छ । जोखिम यतिमा समाप्त हुँदैन। आप्रवासीलाई लुट्न आपराधिक गिरोहहरू जङ्गलमा नै बसिरहेका हुन्छन् । भाग्यवश उनीहरू लुटिएनन् भने पनि ती गिरोहले सुरक्षित बाटो देखाइदिने नाममा आप्रवासीहरूबाट पैसा भने असुलेरै छाड्छन ।
हुन त ८० लाख सम्म खर्च गरेर विदेश जान सक्ने नेपालीले नेपालमा नै त्यो पैसा लगानी गरि केही गरौं भने त्यसको प्रतीफलमा समय र लगानी गरेको पैसा बेकारमा डुवाउनु मात्रै हो । बरु त्यसमा अझ थप लगानी गरेर विदेश नै जानु बेस कमसेकम लगानी त बच्छ बच्छ त्यसमाथि भविष्प पनि उज्वल हुन्छ ।
आप्रवासीहरूका लागि दुई सय ६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो दक्षिण अमेरिकाबाट मध्य अमेरिका र मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका पुग्ने प्रमुख ‘कोरिडोर’बनेको छ । पनामाका अधिकारीहरूलाई घना जङ्गल क्षेत्र ड्यारियन ग्यापमा मर्ने आप्रवासीहरूको वास्तविक संख्याबारे जानकारी छैन । उनीहरूलाई यससम्बन्धमा कसैले कुनै जानकारी उपलब्ध गराएको छैन तर धेरै आप्रवासीको यो कठिन यात्रामा मृत्यु हुने गरेको छ ।
पनामाको गृह मन्त्रालयले बुधबारसम्म चार लाख दुई हजार ३० जना ड्यारियन ग्यापतर्फ गएका बताएको छ । कोलम्बियाबाट हरेक दिन चार हजार आप्रवासी त्यसतर्फ जाने गरेका छन् । कोलम्बियबाट अमेरिका सपना लिएर जाने अधिकांशमा भेनेजुएला, हाइटी, इक्वेडर र कोलम्बियाका नागरिक छन् भने तिनमा केही चिनियाँ र अफगानिस्तानी पनि छन् ।
आप्रवासीहरूको आगमन यति ठूलो छ कि पनामाले देशका विभिन्न भागमा आप्रवासीहरूको लागि सहायता केन्द्रहरू स्थापना गरेको छ । गृहमन्त्री जुआन पिनोले थेग्नै नसकिने गरी आप्रवासीको बाढी आएको र आफूहरूले भरमग्दुर प्रयास गरिरहेको बताएका छन् ।
आप्रवासीहरूको थेग्नै नसकिने आगमनलाई नियन्त्रण गर्न पनामा सरकारले यसै महिनादेखि गैरकानूनी रूपमा आफ्नो भूमिमा प्रवेश गर्नेहरूलाई फर्काउन थालेको छ । यद्यपि त्यो नियन्त्रण हुन सकेको छैन ।
हुन त ८० लाखसम्म खर्च गरेर विदेश जान सक्ने नेपालीले नेपालमा नै त्यो पैसा लगानी गरी केही गरौं भन्ने हो भने व्यापक सम्भावना हुन्छ । तर त्यत्रो पैसा एक्कैपटक कहाँबाट ल्याउनु ? तर एउटा सत्य के हो भने नेपालमै लगानी गर्छु भन्दा कसैले पैसा दिनेवाला छैन । तर विदेश जान्छु, अझ अमेरिका जान्छु भन्ने वित्तिकै ८० लाख निस्किहाल्छ । यो लगानीकर्ताहरुमा देखिएको विश्वास हो । नेपालमा व्यापार गर्नका लागि ऋण नदिने व्यक्तिले कोहि विदेश जान खोज्यो भने तुरुन्तै ऋण दिन्छ । अवैध रुपमा अमेरिका हिँड्न खोजेको व्यक्तिलाई समेत विश्वास गरेर समाजका व्यक्तिहरुले ऋण प्रवाह गरिरहेका छन् । हाम्रो सामाजिक मनोविज्ञानले यसमा ठूलो भूमिका खेलिरहेको छ । विदेश वा अमेरिका पुगेपछि त व्याजसहित ऋण फिर्ता पाइने आशमा लगानी भइरहेको छ । यिनै कारणले पनि होला नेपालीहरु देशमै लगानी गरेर केही गर्नुको सट्टा विदेशका लागि नै लगानी गर्न उचित ठानिरहेका छन् ।