Ad Banner

पशुपति जलहरीमा भ्रष्टाचार: फाँसी दिए हुन्छ भन्ने मिलन थापाले अब के गर्लान् ? (भिडियो)

Featured Video Play Icon

साझा कथा । पशुपतिनाथको शिवलिङ्गमा अनावश्यक ढंगले राखिएको सुनको जलहरी प्रकरणमा तीन जना विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व र हालका सदस्यसचिवसहित तीनजना विरुद्ध एक करोड १७ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।

आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१।७१८ ग्राम सुन हिनामिना गरेको आरोप लगाएको छ । उनीहरूसँग त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको भन्दै असुलउपर गर्न आग्रह गरिएको छ । तत्कालिन कोषाध्यक्ष थापा हाल कोषको सदस्यसचिव छन् । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने बताएपछि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ निकासा गरेको थियो । त्यसपछि कोषले नेपाल राष्ट्रबैंकसँग १०३ किलो ७७३.१ ग्राम सुन किनेको थियो ।

तर जलहरी निर्माणमा १०१ किलो ४८.५ ग्राम मात्र सुन प्रयोग भएको पाइएको अख्तियारले जनाएको छ । राष्ट्र बैंकबाट किनेको १०३ किलो ७७३.१ ग्राम सुनमध्ये जलहरीमा प्रयोग भएको १०१ किलो ४८.५ ग्राम सुन घटाउँदा १ किलो ५६५.६ ग्राम सुनको फरक देखिएको थियो ।

यो प्रकरण सतहमा आएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन राष्ट्रपति विद्या भण्डारी र सदस्य सचिव मिलन थापाको आलोचना भएको थियो । यहि विषयमा कुरा गर्न संसदीय समितिले थापालाई बोलाएको थियो जहाँ उनले रोएर आफूले भ्रष्टाचार गरेको भए बाँच्ने अधिकार नभएको बताएका थिए । उनले आफ्ना छोराको कसम खाँदै भ्रष्टाचार नगरेको जिकिर गरेका थिए । पशुपतिमा जलहरी राख्ने क्रममा सुन हराएको रहेछ भने आफूलाई फाँसी दिनुपर्ने बताएका उनले तर यदि आफूमाथि अन्याय गरिए पशुपति मन्दिरभित्र आत्महत्या गर्ने धम्की समेत दिएका थिए ।

तर अन्ततः उनी विरुद्ध मुद्दा दायर भएको छ । मुद्दा दायरसँगै उनको सदस्य सचिव पद स्वतः निलम्बित भएको छ ।

यो पढ्नु भयो ?