Ad Banner

सांसदहरु धमिल्याउँदै छन् पार्टीको छवि, यता प्रधानमन्त्रीसँग निहुँ खोज्दै रवि

साझा कथा । २०७९ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले अकल्पनीय भोट ल्यायो । रास्वपाका सभापति रवि लामिछानेले नै कल्पना गरे भन्दा बाहिरको शक्ति आर्जन गरेका थिए । रवि स्वयंले यो कुरा सार्वजनिक रुपमा व्यक्त गरेका छन् । प्रत्यक्षमा ७ सिट र समानुपातिकमा १३ सिट ल्याएर रास्वपा संसदको चौथो ठूलो दल बन्यो । माओवादी केन्द्रकै हैसियतमा समानुपातिक मत प्राप्त गरेपछि हौसिएको रास्वपा सरकारमा गएर सुधारका काम सुरु गर्दै थियो । तर नागरिकताको काण्डमा रविको सांसद पद खारेज भएपछि रास्वपाको भविष्य अन्यौलग्रस्त भएको थियो । रास्वपा अन्धकारमा गएको विश्लेषण भइरहँदा बैशाख १० मा भएको उपनिर्वाचनले त्यो आशंका चिरिदियो । चितवन २ मा रवि आफैँ पुनः निर्वाचित भए भने राष्ट्रपति रामचन्द्र पौडेलले छोडेर रिक्त भएको तनहुँ १ मा रास्वपाकै डा. स्वर्णिम वाग्लेले जित हासिल गरे । अहिले रास्वपासँग २१ सांसद छन् । ३२ दिन सरकारमा सहभागी हुँदै गर्दा र बैशाख १० को उपनिर्वाचनसम्म आउँदा रास्वपाप्रति जनउभार व्यापक थियो । तर पछिल्लो समय रास्वपाको जनमत विग्रिएको देखिन्छ । सामाजिक सञ्जालमा स्वतन्त्र पार्टी लक्षित गरेर आउने कमेन्ट र टिप्पणीहरु हेर्दा रास्वपाको भविष्यमाथि प्रश्न गर्ने ठाउँ प्रशस्त बनेको छ ।

खासगरी संसदमा नेकपा एमालेको पिछलग्गु भएको आरोप लाग्नु, रास्वपाका सांसदहरुको प्रस्तुति फितलो देखिनु, केहि सांसद आर्थिक लफडामा पर्नु, पार्टीमा सभापति रवि लामिछाने र डा. स्वर्णिम वाग्लेबीच पछिल्लो समय शक्तिको होडबाजी हुनु, जनस्तरमा राम्रोसँग भिज्न नसक्नु जस्ता कारणले रास्वपाको क्रेज घटिरहेको छ । केहि महिनाअघिसम्म सभापति लामिछानेका पोष्टमा झण्डै शतप्रतिशत समर्थन हुने सामाजिक सञ्जालको ट्रेन्ड अलि खलबलिएको छ । मिहीन ढंगले पोष्टमा आएका कमेन्ट पढ्ने हो भने त्यसको छनक मिल्छ । रविको मात्रै होइन, पार्टीका अन्य नेताहरुको पोष्टमा पनि त्यस्तै देखिन्छ । आइतबार मात्रै प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक बहिष्कार गर्ने रवि लामिछानेको पोष्टमा आएका २ हजार बढी कमेन्टमध्ये ३० प्रतिशतभन्दा बढी कमेन्टस्हरु रविका विरुद्धमा छन् ।

पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल माफिया भनेर चिनिएका व्यवसायी दुर्गा प्रसाईसँग २ करोड माग गरेको अडियो टेप प्रकरणपछि रास्वपालाई धक्का लाग्दै आएको छ । सांसद तोसिमा कार्कीका केहि प्रचारबाजी (आइसियुमा विरामी भेट्नु, दलितको हातबाट पानी खानु लगायत)लाई जनताले रुचाएका छैनन् । यस्तै संसद बैठकमा प्रधानमन्त्री प्रचण्डलाई भैँसी चढेर आएको भन्ने सांसद सन्तोष परियारतर्फ पनि केहि व्यक्तिहरुको आलोचना सोझिएको छ । संसद बैठक चलिरहँदा रास्वपाका सांसदहरुको गाम्भीर्यता, परिपक्कता नदेखिएका घटना जोडेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । धेरै नेपालीले ठूलो आश गरेका डा. स्वर्णिम वाग्ले सांसद निर्वाचित भएपछि केहि संसद बैठकमा उनका अभिव्यक्ति र बहसहरु ओजिला देखिएका थिए । तर पछिल्लो समय उनी गैर सरकारी संस्थाहरुको कार्यक्रममा केन्द्रित हुन थालेपछि पार्टीभित्र समेत उनको आलोचना भइरहेको छ । साथै जनताका मुद्दा उठाउनुपर्ने बेला उनी सैद्धान्तिक छलफलहरुमा बढी केन्द्रित देखिँदा रास्वपाले अपेक्षित गति लिन सकेको छैन । यस्तै अर्की आश गरिएकी सांसद सुमना श्रेष्ठ पनि मूल मुद्दा छोडेर एनजिओ आइएनजिओको प्रवक्ता जस्तै भएर प्रस्तुत हुँदा र उनको पहिरन समेत विवादमा आउँदा रास्वपाले क्षति व्यहोर्नुपरेको छ ।

यसैबीच रास्वपाका सांसदद्वय तोसिमा कार्की र सन्तोष परियार सभामुख देवराज घिमिरेलाई समेत पत्तै नदिई विदेश सयरमा निस्केका छन् । सांसदहरुलाई विदेश भ्रमणमा निस्कन परेमा संसद सचिवालयको आधिकारिक च्यानल प्रयोग गरेर मात्र जान निर्देशन भएपनि नयाँ भनिएका सांसदहरुले पनि आफैँ कार्यक्रम खोज्ने र विदेश सयरमा कुदिहाल्ने पूरानै चलनलाई नै निरन्तरता दिएका छन् ।

नेकपा एमालेका विवादास्पद सांसद तथा नेपालमा ‘होली वाइन’का प्रवर्तक ठानिने एकनाथ ढकाल जोडिएको युनिभर्सल पिस फेडेरेसन नामक एनजिओको कार्यक्रममा सभामुख घिमिरेलाई थाहा पत्तो नै नदिईकन कार्की र परियार थाइल्याण्ड पुगेका छन् । उनीहरुसँगै अरु ८ जना सांसद पनि गएका छन् । उनीहरु शनिबार दिउँसो साँढे १ बजे थाइ स्माइल ३२० नम्बरको प्लेनबाट थाइल्याड उडेका हुन् । कार्की र परियारसँगै थाइल्याण्ड पुग्नेमा राज्य ब्यवस्था तथा सुसासन समितिका सभापति समेत रहेका सांसद रामहरी खतिवडा, मेटमणी चौधरी, महेन्द्रबहादुर शाही, जीवन परियार, महेन्द्रकुमार राय, सुशिला थिंङ, बद्रीप्रसाद पाण्डे र शान्ति विक लगायत छन् ।

पूराना पार्टीहरुले परम्परा सवै भत्काएको, वेथिति बढाएको भन्दै त्यसलाई सच्चाउन उदाएका रास्वपाका सांसदहरु पनि त्यसैगरि विदेश भ्रमणमा कुद्न थालेपछि सर्वत्र आलोचना हुन थालेको छ ।

थाइल्यान्ड भ्रमणमा निस्केका सांसदहरुको अहिलेसम्म संसद सचिवालयमा आधिकारिक बिदाको जानकारी पुगेको छैन । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले पनि कार्यक्रम बनाएर उडेपछि विदाको फर्म बुझाउने नाममा मात्र सभामुखको सचिवालयमा जानकारी आउन थालेको तर अहिले गएका सांसदहरुको बारेमा आफुलाई जानकारी नभएको बताएका छन् ।

पार्टीका सांसदहरुले पुरानै शैली अपनाएर पार्टीको छवि धमिल्याउन भूमिका खेलिरहेका बेला पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री प्रचण्डसँग निहुँ खोज्न थालेका छन् । आइतबार मात्रै प्रचण्डले बोलाएको सर्वदलीय बैठक संसद्को चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गरेको छ । लामिछानेले बैठकमा नजाने जानकारी फेसबुकमार्फत गराए । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिको विरोधमा रास्वपाले सर्वदलीय बैठक बहिष्कार गरेको हो । चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ लामिछानेले फेसबुकमा लेखेका छन्, ‘यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ ।’

तर आयल निगमले शनिबार रातिदेखि लागु हुने गरी गरेको मूल्यवृद्धि सरकारले आज फिर्ता लिएको छ । चाडवाडको बेला जनतामा ठूलो मर्का पर्ने भन्दै मूल्यवृद्धि फिर्ता लिइएको हो ।

प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गरेर मूल्यवृद्धिको विरोध गर्नुभन्दा बैठकमा सहभागी भएर मूल्यवृद्धि नियन्त्रण गर्न आग्रह गर्नु मनासिब हुने कतिपयको तर्क छ । जनताको आवाज समाजिक सञ्जालमा व्यक्त गर्नु एकहदसम्म ठिकै हो तर संसदको चौथो ठूलो दलले सञ्जालमा आक्रोश पोखेर मात्रै समस्याको समाधान हुँदैन । गृहमन्त्री समेत भइसकेको व्यक्ति बैठकमा सहभागी भएर विरोधका स्वर त्यहिँ बुलन्द पार्न सक्नुपर्ने हो । अनि मात्रै त्यसको प्रभाव पर्ने कतिपयको विश्वास छ ।

लोकरिझ्याईँका लागि सामाजिक सञ्जालमा लेख्ने र रमाउने गर्दा जनताका मूल मुद्दा सधैँ ओझेलमा परिरहने हुन्छ । राष्ट्रिय सरोकारका विषयमा त चौथो ठूलो दलको नेता सञ्जालको सहारा लिएर पन्छिन मिल्दैन । सामाजिक सञ्जाल जनमत परीक्षण गर्ने एउटा थलो त हो तर भरपर्दो आधार भने होइन । सञ्जालको सिकार राप्रपा नेता रविन्द्र मिश्र भइसकेका छन् ।

मिसन ०८४ अभियानमा रहेको रास्वपाका नेता कार्यकर्ताहरु अहिले जनस्तरमा पुगेका छन् । यस्तो बेलामा ‘होली वाइन’ले विख्यात कार्यक्रममा त्यसमाथि समामुखलाई जानकारी नगराइकन सांसदहरु विदेश उड्दा पार्टीको छवि धमिलिएको छ । रास्वपाको यहि प्रवृत्ति कायम रहे मिसन ०८४ असफल हुने भन्दै केहि स्वतन्त्र व्यक्तिहरु चिन्तित देखिएका छन् ।

यो पढ्नु भयो ?