साझा कथा । चीनमा १९ औं एसियाली खेलकुद जारी छ । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आईतबार बिहान माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै नेपाल अन्तिम ८ मा प्रवेश गरेको हो ।
नेपालले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स ७४ रनमा अलआउट भएको थियो । मुआवियाथ घानीले सर्वाधिक ३६ रन बनाएको माल्दिभ्सको इनिङ्समा रसिद रसमले नटआउट १२ रन बनाए । फरिद शियसले १० रन जोडे । माल्दिभ्सका ६ खेलाडी शुन्य रनमा पवेलियन फर्किएका थिए ।
नेपालका अभिनाष बोहराले सर्वाधिक ६ विकेट हात पारे । सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट हात पारे ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले अविजित ४७ र कुशल भुर्तेलले ३५ रन बनाएका थिए ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाल मंगोलियामाथि ठूलो अन्तरले हावी भएको थियो । टी २० क्रिकेटमा ७ वटा नयाँ विश्व रेकर्ड राख्दै नेपाल विजयी भएको थियो । सबैभन्दा ठूलो योगफल, सबैभन्दा ठूलो स्कोरमा जित, सबैभन्दा छिटो शतक, सबैभन्दा छिटो अधशतक लगायतका ७ वटा कीर्तिमान नेपाली टिमले राखेको थियो । जसको चर्चा अन्तर्राष्ट्रिय स्तरमै भएको थियो । मंगोलियाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकै खेलमा नेपालले सो रेकर्ड राखेको थियो । तुलनात्मक रुपमा मंगोलिया कमजोर टिम थियो ।
यस्तै आइतबार नेपालद्वारा पराजित मालदिभ्स पनि क्रिकेटमा कमजोर टिम नै हो । अब क्वाटरफाइनल खेलमा नेपालले विश्व क्रिकेटका बलिया टिमसँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।
समूह ‘ए’ को विजेता बन्दै अन्तिम आठमा पुगेको नेपालले अब भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । एसियन गेम्समा नेपाली क्रिकेटको खास परीक्षण अब हुने कतिपयको विश्लेषण छ । एसियाड क्रिकेटको अन्तिम ८ मा नेपालले आफ्नो क्षमता देखाउनुपर्नेछ ।
एसिया कपमा भारत, पाकिस्तान जस्ता विश्वविजेता टिमसँग सन्तोषजनक प्रतिष्पर्धा गरेको नेपाल अहिले अनुभवी टिम बनेको छ । एसिया कपको भारत विरुद्धको खेलमा नेपाली खेलाडीहरुले देखाएको क्षमताको विश्वभर प्रशंसा भएको थियो ।