Ad Banner

चीनमा जारी एसियन गेम्सः क्रिकेट र कबड्डीबाट पदकको आश

साझा कथा । चीनमा १९ औं एसियन खेलकुद चलिरहेको छ । नेपालले अहिलेसम्म एउटा पनि पदक जित्न नसकेको एसियन गेम्सको क्रिकेट र कबड्डी पदक आश गरिएका खेल हुन् । समूह चरणमा दुई वटै खेल जितेर क्वार्टरफाइनल पुगेको नेपाली टोलीले भारतको सामना गर्ने भएको छ । टी-२० क्रिकेटको क्वार्टरफाइनलको लागि सोमबार भएको लक्की ड्रबाट नेपाल र भारतको भेट पक्का भएको हो ।

समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो । दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो। नेपाल समूह एको विजेता बन्दै अन्तिम ८ स्थानमा पुगेको हो ।

क्वार्टरफाइनलको दोस्रो खेलमा भोलि नै पाकिस्तान र हङकङ भिड्नेछन् । श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया बुधबार खेल्नेछन् । भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलंकाका राष्ट्रिय टिम विश्वकपको तयारीमा छन् । एसियन गेम्समा उनीहरुले दोस्रो टिमलाई समावेश गराएका छन् जुन नेपालको लागि फाइदाजनक हुन सक्छ । क्रिकेटमा नेपालले एउटा पदक हासिल गर्ने अपेक्षा गरिएको छ ।

सोमबार विहानसम्मको अवस्था हेर्दा चीनले १३९ स्वर्ण पदकसहित कूल २५१ पदक जितेर चीन अग्रस्थानमा छ । यस्तै ३० स्वर्ण पदकसहित कूल ११६ पदक जित्दै जापान दोस्रो नम्बरमा छ । १३ स्वर्ण सहित कूल ५५ पदक जितेको भारत चौथो स्थानमा छ । नेपालले अहिलेसम्म एसियन गेम्सको यो संस्करणमा एउटा पनि पदक जितेको छैन ।

उता, चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले बंगलादेशलाई हराएको छ । सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले पराजित गरेको हो । यो जितसँगै नेपालले पदक जित्ने सम्भावना बढेको छ ।

महिला कबड्डीमा कुल ७ टोली सहभागी रहेका छन् । त्यस्तै नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छन् । नेपालले इरानसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । उक्त खेल जिते नेपाल सोझै सेमिफाइनल पुग्नेछ। नेपाल सेमिफाइनल पुगे मात्र पनि पदक जित्नेछ ।

एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमले पनि कास्य पदक जित्ने व्यवस्था भएकाले नेपालले महिला कबड्डीबाट पदक जित्ने सम्भावना बलियो देखिएको हो ।

यो पढ्नु भयो ?