नून हाम्रो जीवनको अत्यावश्यक बस्तु बनेको छ । कुनै पनि खानामा नून नहुँदाको अनुभव हामी सबैले गरेको हुनुपर्छ । एउटा चलनचल्तीको भनाई छ कान राम्रो सुनले, मान्छे राम्रो गुनले अनि माछा राम्रो नुनले । यसरी खानाको स्वाद बढाउन नुनको प्रयोग हुन्छ भन्ने आम धारणा रहेको पाइन्छ । नुन रासायनिक पदार्थ हो । यसको रासायनिक नाम सोडियम क्लोराइड हो । यो सोडियम र क्लोराइड नामक अणुहरु मिलेर बनेको हुन्छ ।
तौलको हिसाबले नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ । नुन मान्छेको शरीरका लागि अत्यावश्यक पदार्थ हो । प्रकृतिमा नुन विभिन्न रुपमा रहेको हुन्छ । यो उच्च हिमाली चट्टान भित्र ढिक्के नुन खानीका रुपमा पनि पाइन्छ । यस्तै समुन्द्रको पानीमा नुन अत्याधिक मात्रामा घुलिएको अवस्थामा रहेको हुन्छ ।
सामान्यतया एक लिटर समुन्द्री पानीमा ३५ ग्राम नुन पाइन्छ । मृत सागरको पानीमा सबैभन्दा धेरै नुन हुन्छ जसले गर्दा त्यहाँ कुनै पनि जीव बाँच्न सक्दैन । नुनले खानाको स्वाद बढाउँछ । मान्छेको रगतमा नुन हुने भएको रगतको स्वाद नुनिलो हुन्छ ।
बाघ, भालु जस्ता जंगली जनावरले एकपल्ट मान्छेको मासु आयो भने मिठो स्वादका कारण त्यो पल्किन्छ र बराबर मान्छेकै शिकार गर्न खोज्छ । नुनको व्यवसायिक उत्पादन चट्टानहरुमा रहेका नुन खानीहरु र समुन्द्री पानीको वाष्पिकरणबाट गरिन्छ । वर्षैनी विश्वमा २० करोड टन नुनको उत्पादन हुन्छ । जसमध्ये ६ प्रतिशत मान्छेको खाद्यान्नमा प्रयोग हुन्छ । यसको मतलब वर्षमा करिब १ करोड टन नुन मानिसहरुले खान्छन् ।
अरु बाँकी नुन उद्योगहरुमा प्रयोग हुन्छ । मान्छेले खाने ढिक्के नुन, प्रशोधित नुन र आयोडिन मिसाएको नुनको रुपमा प्रयोग गरेको पाइन्छ । यस्तै प्रकारले उच्च हिमाली चट्टानमा रहेका नुन खानीहरुबाट सिधे नुन र वीर नुनको पनि उत्पादन हुन्छ । यो नुन नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका हिमाली क्षेत्रहरुमा पाइन्छ ।
मानव शरीरमा नुनले नसाहरु र मांसपेशीहरुको कार्य सञ्चालनमा सहयोग गर्छ । यस्तै प्रकारले नुनले कोशिका भित्र पानीको मात्राको सन्तुलन मिलाउँछ । शरीरमा नुन कम भयो भने दिमाग सुन्निएर मान्छे बेहोस हुन्छ । त्यस्तै शरीरमा नुनको मात्रा बढी भयो भने रक्तचाप बढेर मुटु लगायतका अन्य अंगहरुमा नकारात्मक असर पुर्याउँछ । त्यसैले नुन मात्रा मिलाएर खानुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार मान्छेलाई दैनिक ५ ग्राम अर्थात् एक चिया चम्चा नुनको आवश्यकता पर्छ । यो भनेको २३०० मिलिग्राम सोडियम हो । नेपालीहरुले सरदर दैनिक १० ग्राम नुन खाने गरेको अध्ययनले देखाएको छ । जुन चाहिनेभन्दा दोब्बर हो ।
नुन ठिक मात्रामा खानुपर्छ। धेरै खाँदा र थोरै खाँदा दुवै अवस्थामा उत्तिकै खतरा हुन्छ । नुन धेरै खाँदा मुटु रोगको जोखिम बढ्छ भने थोरै खाँदा दिमागको रोग लाग्ने सम्भावना रहन्छ । शरीरमा नुन कम हुने समस्या एक गम्भीर प्रकारको स्वास्थ्य समस्या हो ।
झाडापखाला हुँदा, पसिना धेरै जाँदा, पिसाब गराउने औषधि खाँदा, नुन कम खाँदा यस्तो अवस्था आउन सक्छ । ब्लड प्रेसर घटाउने केही औषधिहरुले पनि शरीरमा नुनको मात्रा कम गराउन सक्छ । बुढेसकालमा यस्तो समस्या बढी आउने गर्छ । यस्तो हुँदा टाउको दुख्ने, चक्कर लाग्ने, लठ्ठ पर्ने र बेहोस हुने जस्ता लक्षण देखिन्छन् । नुन ज्यादै कम हुँदा मान्छेको मृत्युसमेत हुन सक्छ । नेपालमा ४ प्रकारको नुन प्रयोगमा रहेको पाइन्छ । ढिक्के अप्रशोधित नुन, प्रशोधित आयोडिनयुक्त नुन, सिधे नुन र बीरे नुन ।
– प्रा.डा. प्रकाशराज रेग्मी