नेपालगन्जमा भएको के हो ? को हो प्रधान दोषी ? (तस्बिरसहित)

साझा कथा । बाँकेको नेपालगन्जमा कर्फ्यु लगाइएको छ । मंगलबार दिउँसोदेखि लगाइएको कर्फ्यु बुधबार पनि जारी छ । मंगलबारको तुलनामा आज नेपालगन्ज शान्त छ, त्यसैले होला जिल्ला प्रशासन कार्यालयको अग्रसरतामा बैठक राखेर कर्फ्यु लम्ब्याउने कि हटाउने विषयमा निर्णय हुँदैछ । सामाजिक सद्भाव खलबलिने आशंकामा स्थानीय प्रशासनले नेपालगन्जमा मंगलबार दिउँसो एक बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।

भएको के हो ?
घटना असोज ११ को हो । जुन दिन मुस्लिम डे परेको थियो । त्यो दिन नेपालगन्जका एकजना सामान्य युवा जार्बुद यादवले फेसबुकमा इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको अपमान हुने गरी स्टाटस लेखेका थिए । मुस्लिम डे का दिन आफ्नो आस्थामाथि हिन्दु युवाले धावा बोलेपछि सो स्टाटस मुस्लिम समुदायमा हावाको गतिमा फैलियो । स्टाटसप्रति आपत्ति जनाउँदै यादवमाथि कारबाहिको माग हुन थाल्यो । यहि बेला नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का वडाध्यक्ष सराफत खान विरोधमा उत्रिए । उनले नै मुस्लिम युवाहरुलाई उक्साए र असोज १४ गते नेपालगन्जमा प्रदर्शन भयो । प्रदर्शनमा उत्रिएका मुस्लिम समुदायका व्यक्तिहरुले हिन्दु विरोधी नारा लगाए, सडकमा टायर बाले, जिल्ला प्रशासन कार्यालय पुगेर मुस्लिम समुदायको झण्डा गाडे र यादवमाथि कडा कारबाहिको माग राखे । तर प्रशासन मौन बस्यो । सोहि दिन यादवलाई पक्राउ गरेको भए घटना सामसुम हुने थियो । तर पहलकदमी लिइएन ।

यी थिए स्टाटसहरु

भोलीपल्ट असार १५ गते जिल्ला प्रशासन कार्यालयले समस्या समाधानका लागि भन्दै सर्वपक्षीय छलफल बोलायो, सद्भाव र्याली निकाल्ने निर्णय भयो । यो निर्णय हुनुभन्दा अघि हिन्दूवादी धार्मिक संस्था ऊँकार समाज नेपालगन्जले विरोधका कार्यक्रम सार्वजनिक गरिसकेको थियो । उनीहरुले नेपालगन्ज बन्दको आव्हान गर्दै एकातिर प्रदर्शन गर्न थाले, अर्कोतिर सद्भाव र्याली निस्कदै थियो । त्यहि बेला हिन्दुबादी संस्थामा आवद्ध व्यक्तिहरु तोडफोडमा उत्रिए । सार्वजनिक सम्पत्ति तोडफोड गरियो, मुस्लिम समुदायका व्यक्तिहरुका पसल र घरमा ढुंगामुढा गरियो । उग्रवादी नारा लगाइयो । धार्मिक सद्भाव राख्नुपर्नेहरुले आगोमा घ्यु थपे । हिन्दुहरुले आयोजना गरेको प्रदर्शनको बेला घरका छतबाट मुस्लिम समुदायका व्यक्तिहरुले ढुंगा बर्साएको भिडियोहरु समेत प्राप्त भएका छन् ।

ऊँकार समाजले निकालेको र्‍यालीका सहभागीहरूले नेपालगन्जमा उपद्रो र उच्छृंखल गतिविधि गर्न थालेपछि सामाजिक तथा धार्मिक सद्भाव भड्कन सक्ने खतरा आंकलन गरी स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गर्यो ।

दोषी को ?
अहिले प्रहरीले स्टाटस लेख्ने यादवको खोजी भइरहेको बताएको छ जो फरार भएका छन् । उनलाई पक्राउ गर्नका लागि पर्याप्त समय थियो, तर प्रहरीले तदारुकता नदेखाउँदा उनी भाग्न सफल भए । एकापसमा मिलेर बसेको नेपाली समाजमा झगडाको विउ रोप्ने उनै यादव हुन्, जसलाई पैगम्बर मोहम्मदमाथि गाली थोपर्नु कुनै आवश्यकता थिएन । अर्को धर्मविरुद्ध लेख्ने बोल्ने मानिसले मानवता भन्ने धर्म विर्सिएको हुन्छ, यादवले मानवता विर्सिए । त्यसकारण उनी प्रधान दोषी हुन् । त्यसपछि प्रदर्शन सुरु हुन लागेपछि प्रशासन कार्यालयले पहलकदमी लिनुपर्थ्यो, जुन भएन । त्यसकारण अर्को दोषी प्रहरी प्रशासन पनि हो ।

यस्तै एउटा स्टाटसका कारण मुस्लिम समुदायको आस्थामा चोट पुगेको थियो तर सर्वस्व सकिएको थिएन । एउटा सार्वजनिक छवि समेत नभएको सामान्य नागरिकका स्टाटसको पछि लाग्दै मुस्लिम समुदायका युवाहरुलाई उछाल्ने नेपालगंज ५ का अध्यक्ष खान पनि यो घटनाका दोषी हुन् । सामाजिक सञ्जाल कुण्ठा व्यक्त गर्ने, गालीगलौज गर्ने र अरु व्यक्ति वा समुदायमाथि खिसिटिउरी गर्ने माध्यम बनेको छ । धेरै स्टाटसहरु सामाजिक सद्भाव भड्काउने उद्देश्य भन्दा पनि व्यक्तिगत तुष पोख्ने उद्देश्यले लेखिने गरेको छ । यस्तो अवस्थामा अर्को पक्षले ती विषयलाई अनदेखा गर्नु नै मनासिब हुन्छ ।

यसका साथै मुस्लिम समुदायको भावनामाथि चोट पुगेको भनेर माफी माग्दै विषयलाई सामान्य बनाउनुपर्नेमा ऊँकार समाजले बन्द आव्हान गर्दै प्रदर्शन गर्नु र प्रदर्शन अराजक बनाउनु कुत्सित मनशाय हो । ऊँकार समाजलाई उचाल्नका लागि भारतीय शिवसेना र नेपालका उग्र हिन्दुवादी व्यक्तिहरु समेत नेपालगन्जमा पुगेको बताइएको छ । जसले यसअघि सर्लाहीको मलंगवा र सुनसरीको धरानमा यस्तै उपद्रो मच्चाउन खोजिरहेका थिए । उनीहरुको उक्साहटमा लाग्नु ऊँकार समाज नेपालगन्जको कमजोरी हो ।

सबैले मनन् गर्नुपर्ने कुरा के हो भने, धर्म मानिसले बनाएको हो । आपसी भाइचारा विकास हुँदा सबै धर्मको उथ्थान हुन्छ । सामाजिक सद्भाव र सहिष्णुता सामाजिक संजालका कारण द्वन्द्वात्मक बनेको छ । यसतर्फ हामी सबै सचेत हुन जरुरी छ । सामाजिक सञ्जाललाई नियमन गर्ने निकायहरुको सक्रियता पनि उत्तिकै जरुरी छ ।

बुधबार विहान नेपालगन्जको अवस्था तस्बिरमा हेर्नुहोस् (तस्बिरहरुः शरद पाण्डे)

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?