साझा कथा । अंग्रेज फौजलाई परास्त गरेको दिनको सम्झनामा सोमबार सिन्धुलीगढीमा सम्पदा यात्रा गरिएको छ । ढुंग्रेभन्ज्याङबाट सुरु भएको यात्रा पौवा गढी हुदैँ सिन्धुलीगढी, टुडिखेल र रानी दरबारसम्म करिव ५ किलोमिटरको दुरी तय गरेको थियो । सम्पदा यात्राको नेतृव दिलिप थापाले गरेका थिए ।
विश्वमा साम्राज्य विस्तार गर्दै आएको अँग्रेज सेनाले त्यो समयमा आश्विन ९ गते सिन्धुलीमाडीमा कब्जा गरेको थियो । सिन्धुली माडी विजय गरेर गढीतिर उकालो लागेको किनलक नेतृत्वको अँग्रेज फौजलाई गोर्खाली फौजले पौवागढीमा प्रत्याक्रमण गरेको थियो । वंशु गुरुङ नेतृत्वको नेपाली फौजले अंग्रेज फौजलाइ सिन्धुलीगढीबाट भगाएका थिए । कुल २४०० सेनासहित आएको सो फौजका १६०० सेनाको सोही आक्रमण मृत्यु भएको थियो । जुन ठाउमा अहिले बिपी राजमार्ग छ ।
हाल राजमार्गको छेउमा रहेको पौवागढी भन्दा माथि अग्रेज सेना प्रबेश गर्न सकेका थिएन । पौवागढीमा पुरानो गेट थियो । सिन्धुली गढी महत्वपूर्ण नाका र केन्द्रका रुपमा लामो समयसम्म रहिरहेको थियो । बिक्रम संवत २०१९ सालसम्म जिल्लाका सम्पूर्ण सरकारी कार्यालय सिन्धुलीगढी क्षेत्रमा नै थिए । २०२२ मा सिन्धुलीगढी दरवारमा सेनाको व्यारेक र प्रहरी चौकी, कारागार मात्र वाँकी रहेर सबै कार्यालयहरु सिन्धुलीमाढीमा सारियो ।
दिलिप थापाले सम्झदै भने, ‘गढीमा चहलपहल त्यति बेला थियो जुन बेला सदरमुकाम यहाँ थियो । दहि चिउरा खान पाइन्थो पौवागढी उक्लने बित्तिकै । पसलहरु थिए । तर अहिले पालिकाले सबै नागरिक इतिहास छोपेर स्मारक र युद्ध संग्रहलय बनाएको छ । पूराना कुरा सवै सम्झनामा मात्र छ ।’
२०२९ सालमा कारागार पनि सिन्धुलीमाढीमा सारियो । कृष्ण विक्रम थापाले एउटा गित गाए । त्यस वेलादेखि विगतका यादहरुलाई सम्झेर लोकगायक कृष्ण विक्रम थापाले ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरवार मार्यो नी मायाले मार्यो’ गीत गाएका थिए । २०३७ सालमा पहिलो पटक रेडियो नेपालमा बजेको यो गित अहिलेसम्म चर्चामा छ । तर लोकगायक थापाको शालिक तयार भएको एक बर्ष भन्दा बढी भइसक्दा पनि अनावरण हुन सकेको छैन ।
सम्पदा यात्राका आधारमा तयार नक्सालाइ डिजिटलाइज गरिने जनाइएको छ । । जुन पद यात्रीका लागि उपयोगि हुनेछ । उमेरले ७८ वर्ष पार गरिसकेका दिलिप कुमार थापाको सिन्धुलीको धार्मिक, पर्यटकीय तथा एतिहासिक झलक पुस्तक प्रकाशित छ । सिन्धुलीगढीको संरक्षण गर्ने जिम्मेवारी लिएको कमलामाई नगरपालिकाले भने गलत मितिमा विजयोत्सव मनाउने गरेको छ । उसले इतिहासलाई बंग्याउने काम गरेको इतिहासविद्हरुले बताउँदै आएका छन् । इतिहासकारहरुसँगको छलफलपछि समृद्ध सिन्धुली अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन बिजयोत्सव मनाउन थालेको हो ।
बिक्रम संवत २०७४ देखि असोज १५ लाइ नै बिजय उत्सव मनाउन थालिएको र अंग्रेजलाई परास्त गरेकै मितिमा बिजयोत्सव मनाउदा तथ्यमा अलमल नहुने समृद्ध सिन्धुली अभियानका अभियन्ता भुबन थापा बताउछन । उनले समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै कमलामाई नगरपालिकासँग मिलेर यसको विकासमा सहकार्य गर्न सकिने बताए ।