साझा कथा । चीनको हाङझाउमा १९ औँ एसियाली खेलकुद चलिरहेको छ । असोज ६ गतेदेखि सञ्चालन भएको खेलकुद मेला सकिन अब १ दिन र ७८ खेल मात्र बाँकी छ ।
एशियाली खेलकुद अन्तर्गतका ४ सय ८१ खेलमा नेपालले २९ खेलमा सहभागिता जनाएको थियो । जसमा १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले सहभागिता जनाएका थिए । यस अघिका एसियाली खेलकुदहरुमा राम्रो प्रस्तुति देखाएर पदक ल्याएको नेपाल यस पटक एउटा मात्र पदक लिएर फर्कने छ । भाग्यले नै भए पनि नेपालले पदक विहिन भएर फर्कनुपर्ने अवस्था र लाज ढाकेको छ ।
महिला कबड्डीले १९ औं एसियाली खेलकुदमा नेपालको शुन्य पदकको संकट त टार्यो । तर, यो कुनै प्रशंसा गर्न लायक भने भएन । किनकी, कबड्डीमा प्राप्त गरेको यो कास्य पदक मेहनत भन्दा पनि बढी भाग्य बलियो भएर पाएको देखिन्छ ।
भाग्य १ः
एसियाली खेलकुदमा कुल ४५ देशले सहभागिता जनाएको थिए । त्यसमा ७ टिमले मात्रै महिला कबड्डीमा भाग लिनु नै नेपालको लागि अवसर थियो – जुन भाग्यको रुपमा बदलियो । किनकी, धेरै प्रतिस्पर्धीसँग खेल नै खेल्नु परेन ।
भाग्य २ः
समूह वर्गीकरणमा पनि नेपालको भाग्य बलियो भयो । नेपाल समूह ‘बी’मा पर्यो । समूह ‘ए’मा परेको भए चार टिमसँग प्रतिस्पर्धा गर्नु पथ्र्यो । समूह ‘बी’मा परेकै कारण तीन टिमबीच मात्रै प्रतिस्पर्धा भयो । त्यसैले, यसमा पनि नेपालको भाग्य नै बलियो भयो भन्नु पर्छ ।
भाग्य ३ः
समूह ‘बी’मा रहेको नेपालले एक खेल मात्रै जित्दा यो पदक प्राप्त गर्यो । जसमा नेपालले पहिलो खेलमा बङ्लादेशलाई ३७–२४ अंकले पराजित गरेको थियो । ४५ देशले सहभागिता जनाएको एसियाली खेलकुदमा एक मात्र खेल जितेर पदक पाउनु आफैमा भाग्य बलियो हुनु हो ।
भाग्य ४ः
एक खेल जिते पनि नेपाल सेमिफाइनलमा पुग्न अरुको अंक तालिकामा भर पर्नु पर्यो । आफ्नै समूहमा रहेको इरान र बंगलादेशबीच भएको खेलमा बंगलादेशले जितेको भए नेपालको पदक पाउने आशा त्यहीँबाट गुम्ने थियो । तर इरानले बंगलादेशलाई हराएकै कारण नेपाल समिफाइनलमा पुग्न सक्यो । यहाँ पनि नेपालको भाग्यले नै काम गर्यो ।
भाग्य ५ः
नेपालको भाग्य बलियो हुँदा पदक विहिन हुनु परेन भन्ने अर्को बलियो उदाहरण हो – सेमिफाइनलमा पुगेका सबै (चार ओटै) टिमले पदक पाउनु । यदि तीन टिमले मात्रै पदक पाउने प्रावधान भइदिएको भए पनि सायदः नेपाल पदक विहिनताकै अवस्थामा हुने थियो कि !
भाग्य ६ः
१९ औं एसियाली खेलमा नेपालको प्रस्तुति साह्रै कमजोर भइरहेको अवस्थामा कबड्डीबाट नेपालले पदकको आसै गरेको थिएन । किनकी, कबड्डीमा पनि नेपालको प्रस्तुति राम्रो थिएन । इरानसँग १९–४३ को फराकिलो अंकले पराजित भएको थियो भने भारतसँग ६१–१७ को विशाल अंकले पराजित भोग्नु पर्यो । आसै नगरेको खेलबाट पदक पाउनु पनि नेपालको भाग्य बलियो हुनु हो ।
भाग्य नै सही, नेपाली टोलीमा सहभागी मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु, कलावती पन्त र प्रशिक्षक विष्णुदत्त भट्टलाई हार्दिक बधाई !